सरकारी स्रोत साधनको दुरुपयोगमा गृहको ध्यानाकर्षण

सोमबार, १८ भदौ २०८०, १३ : ५३

काठमाडौँ - सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक विदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयहरु मार्फत् विगतदेखि नै हुँदै आएको छ । उक्त सन्दर्भमा गृह मन्त्रालयले विभिन्न मितिमा यसको अनुगमन, नियमन र नियन्त्रणका लागि परिपत्र समेत गर्ने गरेको छ । सरकारी कामका लागि विदाका दिनमा सरकारी सवारी साधन प्रयोग गर्नुपर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था रहेको छ। यसबाट निजी काममा सरकारी सवारी साधनको प्रयोगमा कमी आई मितव्ययिता अभिवृद्धि गर्न मद्दत पुगेको कुरा निर्विवाद छ । गृह मन्त्रालयको निर्देशन अनुसार सरकारी स्रोत साधनको दुरुपयोग नियन्त्रणका लागि स्थानीय प्रशासन निरन्तर क्रियाशील रहेको छ र भविष्यमा समेत दृढतापूर्वक यो नीति कार्यान्वयन गरिने छ । मितव्ययिता, शान्तिसुरक्षा तथा सुशासन अभिवृद्धिका लागि स्थानीय प्रशासनबाट सम्पादित यस्ता कार्यमा आम नागरिकबाट प्राप्त साथ, समर्थन र सहयोगले उच्च मनोवलका साथ कार्य गर्न थप उत्प्रेरित बनाउने गर्दछ ।

सुरक्षाकर्मी एवम् कर्मचारीहरु विद्यमान कानुन एवम् नीति निर्देशनको पालना गर्नरगराउन अहोरात्र फिल्डमा खटिएर काम गर्दै आएका छन् । आफूलाई प्राप्त जिम्मेवारी पूरा गर्न यसरी खटिने सुरक्षाकर्मी र कर्मचारीहरुलाई जिम्मेवार सरकारी निकाय, पदाधिकारी, नागरिक समाज र आम नागरिकका तर्फबाट उचित सहयोग, समर्थन र हौसला सदैव अपेक्षित हुन्छ। कार्यक्षेत्रमा खटिएका कर्मचारी वा सुरक्षाकर्मीहरुका बारेमा कुनै गुनासो भएमा तथ्य प्रमाण सहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारी समक्ष जानकारी हुन आएको खण्डमा प्राप्त गुनासो उपर छानविन गरी आवश्यक निर्णय हुने जनाइएको छ ।

पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरुलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरूमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा अवरोध नपुयाउन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्न नगराउन  कार्यलयले अनुरोध गरेको छ । प्रचलित कानूनको बर्खिलाप गरिने जुनसुकै गतिविधिहरु नियन्त्रण गर्न र विधिको शासन प्रत्याभुत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिवद्ध रहेको  जनाइएको छ । अतः यस कार्यमा अहोरात्र क्रियाशील निकाय तथा सम्बद्ध राष्ट्रसेवकलाई साथ, सहयोग र हौसला प्रदान गर्न आम नागरिक समक्ष  वक्तव्यमा अपिल गरिएको छ ।

सोमबार, १८ भदौ २०८०, १३ : ५३

प्रतिक्रिया