बैतडीमा मेडिकल सञ्चालकविरुद्ध मुद्दा

शनिबार, २३ भदौ २०८०, १६ : ३१

काठमाडौँ - बैतडीको दोगडाकेदार गाउँपालिकाका एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । दोगडाकेदार–६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो । 

 प्रहरी प्रवक्ता एवम प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले यही भदौ १९ गते अनुगमनका क्रममा कार्कीले मेडिकल अवैधरूपमा सञ्चालन गरिरहेको फेला पारेको थियो ।

 अवैधरूपमा मेडिकल सञ्चालन गरेको पाइएपछि अनुगमन टोलीले सोही दिन पक्राउ गरेर प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।  प्रहरी निरीक्षक खत्रीले भने, “मेडिकल दर्ता नै नभएको र स्वास्थ्य विषय नपढे पनि क्लिनिक सञ्चालन गरेको पाइएको छ ।”

 अनुगमनका क्रममा कार्कीको मेडिकलसहित दोगडाकेदार–७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार–३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको थियो ।

चिकित्सकको प्रेसक्रिप्सनबिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएको तथा सम्बन्धित निकायमा दर्ता प्रक्रियासमेत पूरा नगरेको पाइएकाले मेडिकल सिल गरिएको बताइएको छ । रासस

शनिबार, २३ भदौ २०८०, १६ : ३१

प्रतिक्रिया