निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक होःअर्थमन्त्री महत

मंगलबार, २६ भदौ २०८०, १४ : ५२

काठमाडौँ - अर्थमन्त्री डा.प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक भएको बताएका छन् । मंगलबार राजधानीमा १५ औँ संस्करणको नाडा अटो शो, २०२३ उद्घाटन गर्दै अर्थमन्त्री डा.महतले शिक्षा, स्वास्थ्य र सामाजिक न्याय बाहेक अन्य गतिविधिमा आर्थिक उपार्जन गर्न निजी क्षेत्रको अहम् भूमिका हुने बताए ।

 आर्थिक समस्याहरु क्रमशः कम हुँदै गएका छन् । अब मुलुक श्रीलंकाको बाटोमा जान्छ कि भन्नुपर्ने डराउनुपर्ने अवस्था छैन । आर्थिक गतिविधिहरु चलायमान हुँदै गएका छन् ।  पर्यटन आगमन बढेको छ, अर्थमन्त्री महतले भने, लामो समयसम्म समस्याकै रुपमा रहेको जग्गाको कित्ताकाट समेत खुलेको छ । पक्कैपनि यसले आर्थिक चलायमान बनाउन सहयोग पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौ । 

 यसले अटोमोबाइल क्षेत्र समेत गतिशील हुने र गाडीको बिक्री बढाउने उनले बताए । 

 पहिले सवारी साधनलाई विलासीताका साधन मान्ने गरिएको र सोही अनुसार ट्याक्स लगाइएको तर, अब त्यस्तो सोच्न आवश्यक नरहेको अर्थमन्त्री डा।महतले भने ।

पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्दो छ, सरकारले यसको प्रयोगमा सहज नीति पनि अंगिकार गरिरहेको छ । अब मुलुकभित्रै सवारी उत्पादन तथा एसेम्बलिङ गर्नुपर्ने आवश्यक छ । यसका लागि व्यवसायीहरु अघि बढ्नुपर्छु, उनले भने । सवारी उत्पादन तथा एसेम्बलिङ उद्योगका लागि सरकारले सहुलियत तथा प्रोत्साहन गरिरहेकोमा व्यवसायीहरुले यो अवसर सदुपयोग गरेर आर्थिक उत्पादनमा लाग्नुपर्ने उनले बताए ।

मंगलबार, २६ भदौ २०८०, १४ : ५२

प्रतिक्रिया