काठमाडौँ- तिजलाई कठोर व्रत भन्दा पनि समर्पणका रूपमा हेर्न जरुरी छ । हुन त आजभोलि तीजको दर तीजभन्दा महिनौँ अघिबाटै सुरु भइसकेको हुन्छ तथापि परम्परागत रूपमा तीजको एक दिन अगाडि वास्तविक दर खाने चलन छ ।
शताब्दी देखि महिलाहरूको शौभाग्यका लागि बसिने यो तीजका आयामहरू आजभोलि समयसँगै आधुनिक हुँदै गएको छ, महिनौँ अगाडिदेखि दर खाने चलन, तडकभडक र सामाजिकीकरणको नाममा अतिरञ्जित गर्दै भड्किलो संस्कार र चलनहरू हामीले देख्दै आएका छौँ । तीजलाई विशुद्ध सरल अनि महत्त्वपूर्ण चाडका रूपमा मात्र लिइन जरुरी छ र यो चाडलाई गरिब-धनी सबैको पहुँचमा आउने गरी मनाइन जरुरी छ । अर्कोतर्फ गर्मीको मौसम छ, स्वास्थ्यलाई विशेष ख्याल गर्न जरुरी छ, धेरै चिल्लो पिरो खानेकुरा जस्ता भोजनको अधिकतम सेवनले थप बिरामी गराउन सक्दछ तसर्थ दर खाने क्रममा यी कुराहरूप्रति धेरै ख्याल गर्न जरुरी छ ।
निराहार तथा निर्जला रही तीज मनाउनाले फल प्राप्त गरिन्छ भन्ने धारणा सत्य हैन, अविवाह ताकालागि असल पति र विवाहितको पति अनि परिवारको स्वास्थ्य एक दिनको तीजले मात्र नभई वर्षभरिको समन्वय, समझदारी र सहकार्यले, एक अर्काप्रतिको समर्पण, सम्मानले मात्र निर्धारण गर्न सक्छ । यस दिन पुरुषहरूको पनि उत्तिकै दायित्व छ, हाम्रा आमा, दिदी–बहिनी अनि पत्नीहरूको हामीप्रतिको यो सहृदयता कालागि हामीले पनि जिम्मेवारी उठाउन जरुरी छ, आजको दिन वहाँहरूलाई सम्मान गर्दै अनि ख्याल गरेर असल सहयात्रीको भूमिका निभाउन जरुरी छ ।
भोलीको कठिन तीजको व्रतलाई आजको दरले भ्याउनुपर्ने हुन्छ किनभने भोलीको व्रत केवल व्रत मात्र नभई दिनभरिको नाचगान, कुराकानी, पूजापाठ अनि रमाइलो पनि हो । यसरी सबै जना नारीहरू एक ठाउँमा भेला भएर रमाइलो गर्दै मध्यरातमा बसेर मिठा मिठा परिकारहरू खाने चलन नै दर हो ।
दरको कुरा गर्दा पकवानहरूमा सामान्यतया ढकने, आलुदम, आलु–कबाफ, दूध, कुरौनी, फलफूल, मिठाई लगायतका अडिला कुराहरू सेवन गर्ने चलन छ । अझ विवाहित चेली कालागि त दरको महत्त्व बास्तवमै अगाध स्नेहमयी हुन्छ । माइतीको निम्तोमा दर खान पुगेका चेलीहरू आजको दिन आमा, हजुर या भाउजूहरूको स्नेहमा लुटपुटिदैं उपरखुट्टी लगाएर घरको कुनै सुर्ता नराखी खाने, रमाउने चलन छ । तीजमा माइत जाने लालसा, नयाँ सारी लाउने चाहना, गाउने गीतका भाका अनि अविवाहित महिलाहरुका लागि भनेजस्तो राम्रो जीवनसाथी पाउँ भन्ने अघोषित वरदानहरू तीजका सर्वमान्य तथ्यहरू हुन् । दर खाने दिनका याद गर्दै माइत जान नपाएका चेलीहरूको वेदना पनि गहभरि आँसुसँगै पोखिन्छ छताछुल्ल, कहिले गीतमा त कहिले प्रीतमा ।
तीज एउटा संस्कार मात्र नभई सभ्यता हो, हेर्नेले यसलाई नारीवादी चाडका रूपमा हेर्दछ तर आँखाका डिल अनि मनका भित्ता खोलेर हेर्ने हो भनेँ तीज नारी र पुरुषको समानता अनि लैगिंक समानताको उत्साह पनि हो । आमा, छोरी, बुहारी, सासू, आमाजू, दिदी, बहिनी लगायत सम्पूर्ण महिला नातागोताहरूको साझा चौतारीका रूपमा तीजलाई लिन सकिन्छ ।
वैदिक हिन्दु सनातन परम्परा, संस्कार तथा महिला सौभाग्यको प्रतीक स्वरूप रातो सारी, छड्के तिलहरी, लगनको पोते लगायतका गरगहना र वस्त्र पहिरिएर तीजको दिनमा निराहार व्रत लिएर मठ मन्दिर, टोल छिमेकमा भेला भई नाचगान गर्दै रमाइलो गर्ने चलन रही आएको छ ।
प्रतिक्रिया