माओवादीले बाबुरामलाई साइड लाउन खोजेकै हो ?

बुधबार, ०३ असोज २०८०, १२ : ०७

काठमाडौं – विचार मिल्ने विभिन्न वामपन्थी पार्टीसँग एकता गर्ने भन्दै आएको माओवादीले अरु पार्टीहरुलाई पत्राचार सुरु गरेको छ । कुनै बेला माओवादीका वरिष्ठ नेता रहेका डा. बाबुराम भट्टराईलाई भने माओवादीले बेवास्ता गरेको देखिन्छ । माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र महासचिव देव गुरूङले संयुक्त रूपमा पठाएको पत्रमा सम्बोधन भने अर्का अध्यक्ष महिन्द्र राय यादवलाई गरिएको छ।

 नेपाल समाजवादी पार्टीमा पहिलो वरीयताका अध्यक्ष बाबुराम भट्टराई र दोस्रो वरियतामा महिन्द्र राय यादव छन्। यादव सरकारका खानेपानी तथा सरसफाइ मन्त्रीसमेत हुन्।

बाबुराम भट्टराईले बृहत समाजवादी मोर्चा निर्माण गर्नुपर्ने बताउँदै प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छोडेर संसदीय राजनीतिबाट बाहिरिएका थिए । तर माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाको सहकार्यमा समाजवादी मोर्चा बन्दा भट्टराई भने त्यहाँ समेटिन सकेनन्।
मोर्चा निर्माण यता नै प्रचण्ड र भट्टराईका बीचमा तिक्तता सुरू भएको थियो।

अहिले पार्टी एकताको कुरा चलिरहेको छ, उहाँहरू दुबै जना अध्यक्ष हो। अहिले पार्टी एकताको छलफल यादवजीले गरेकाले उहाँलाई नै पत्राचार गरिएको हो,’ गुरूङ आजको अर्थसँग भने, ‘बाबुरामजीलाई पनि आवश्यक पर्छ भने अर्को पत्र पठाइनेछ।’

‘दुवै पक्षको वार्ताको क्रममा पार्टी एकताका लागि पार्टीको नामका सम्बन्धमा छलफल चलिरहेको छ,’ पत्रमा उल्लेख छ, ‘यसै क्रममा यही भदौ २५ गते अध्यक्ष कमरेड प्रचण्डको अध्यक्षतामा बसेको यस पार्टीको केन्द्रीय कार्यालय बैठकमा पार्टी एकताका सम्बन्धमा गम्भीरताका साथ छलफल भयो। अन्तमा पार्टी एकतालाई सफल तुल्याउनका लागि पार्टीको नामको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्टमा रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा खुला रूपले छलफल गरी आवश्यक निर्णय लिन सकिने भनी गरिएको निर्णयलाई जानकारीका लागि पत्राचार गरिएको छ।’

गत भदौ ३० गते लेखिएको उक्त पत्रबारे बाबुराम भट्टराई पक्षधरले यादवको फेसबुक पेजमार्फत् थाहा पाएका थिए।

यादवको फेसबुक पेजमा पार्टी एकताको सम्बन्धमा भन्दै उक्त पत्र सार्वजनिक गरिएको छ। भट्टराई पक्षका नेताहरूले माओवादी केन्द्रले पठाएको पत्र पार्टीको केन्द्रीय कार्यालयमा आइनपुगेको बताएका छन्।

बुधबार, ०३ असोज २०८०, १२ : ०७

प्रतिक्रिया