आजदेखि सोह्र श्राद्ध आरम्भ,के छ शास्त्रीय मान्यता ?

शनिबार, १३ असोज २०८०, ०७ : १६

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ। आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ।

प्रतिपदा तिथि श्राद्धको पिण्ड दान अपराह्नसम्म गरिसक्नुपर्ने छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान  गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो।

चाडपर्व, यज्ञ तथा ठूलाकार्य  गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो। सोह्र श्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आस गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।

यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको प्राडा  रामचन्द्र गौतम बताउँछन्। सोह्र श्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए। जात शौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्न नहुने गौतमले बताएका छन्।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ। कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्म सिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात  योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्र श्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णय सिन्धु, धर्म सिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिए।

त्यसपछि पनि सोह्र श्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले सुनाए। विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ। बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्म शास्त्रीय मत छ। ठुला पर्व वा चाड मनाउनुअघि पितृ तृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ।
 

शनिबार, १३ असोज २०८०, ०७ : १६

प्रतिक्रिया