शिक्षा विधेयकमाथि विज्ञ र सरोकारवालासँग सुझाव लिन्छौ : जोशी

मंगलबार, १६ असोज २०८०, ०८ : ५३

शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संसद्मा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि समितिले विज्ञ र सरोकारवालासँगको छलफल र राय लिएर आवश्यक परिमार्जन गरिने बताएका छन्।

सरकारले पर्याप्त गृहकार्य नगरी विधेयक ल्याएका कारण सडकमा आन्दोलन हुन पुगेको र पछि सरकारसँग सहमति भएको स्थितिमा उठेका विषय र सहमतिका बुँदाहरू विधेयकमा समाविष्ट गराउने प्रक्रियामा लाग्न जोशीले आग्रह गरे।

सरोकारवालाबाट सुझाव लिई सांसदहरूले प्रक्रियाबमोजिम संशोधन नहालेमा समितिले मात्रै परिमार्जन गर्न नसक्ने स्पष्ट पार्दै उक्त विधेयक सैद्धान्तिक छलफलपछि अब बस्ने प्रतिनिधिसभाको बैठकबाट दफावार छलफलका लागि समितिमा पठाइने जानकारी दिएका छन् ।

शिक्षाको गुणस्तर र सार्वजनिक शिक्षाको श्रीवृद्धि कसरी हुन्छ भन्ने सोच विधेयकमा ल्याउन आवश्यक रहेकामा जोड दिँदै उनले कानुन र नीति तर्जुमाका सवालमा विज्ञ र सरोकारवालालाई बेवास्ता गर्न नमिल्ने बताए।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षाको संरचनागत र पद्धतिका प्रबन्ध गर्दा स्तरीयता र विश्वका मुलुकको अनुभवलाई समेटेर कानुन बन्नुपर्ने बताए। शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले शिक्षामा नीतिगत सुधारका लागि खोज, अध्ययन र अनुसन्धानात्मक समाचार सम्प्रेषण गर्न प्राथमिकता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा शिक्षा सेवीलाई सम्मान र शिक्षा पत्रकारलाई पुरस्कार प्रदान गरिएको थियो ।

मंगलबार, १६ असोज २०८०, ०८ : ५३

प्रतिक्रिया