उपत्यकामा हुने कालोबजारी निगरानी गर्न प्रहरीलाई सर्कुलर जारी

विहीबार, १८ असोज २०८०, ०९ : ५७

चाडपर्वमा हुनसक्ने अवाञ्छित गतिविधि, कालोबजारी, यातायात क्षेत्रमा हुने ठगीलगायत आपराधिक गतिविधि हुन नदिन विशेष निगरानीका लागि  उपत्यका प्रहरी कार्यालयले तीनै जिल्लाका प्रहरी र मातहतका युनिटलाई सर्कुलर जारी गरेको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्था मजबुत बनाउन आवश्यक सुरक्षा योजना निर्माणमा जुटेको उपत्यका प्रहरीले तीनै जिल्ला र मातहतका युनिटलाई विशेष चनाखोका साथ प्रहरी सेवा प्रवाह गर्न सर्कुलर जारी गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । 

प्रहरी कार्यालयले उपत्यकाको मातहतका युनिटलाई जारी गरेको सर्कुलरमा चाडपर्वका बेला हुनसक्ने कालोबजारी, अवाञ्छित गतिविधि, चोरी, तस्करी नियन्त्रण, ठगी लुटपाट, अवैध गतिविधि, गाडीको तीव्र गति, यातायातको टिकटमा महँगो शुल्क लिने तथा ठग्नेजस्ता गतिविधि नियन्त्रणमा लाग्न निर्देशन गरेको छ ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले कार्यालयबाट आवश्यक निर्देशन गइसकेको र प्रहरीले आआफ्नो क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त पारिसकेको बताएका छन् । उनका अनुसार अनुसार उपत्यकाका लागि जनशक्ति थप गरी आवश्यक कार्य अघि बढाइसकिएको छ ।

उपत्यकाको तीनै जिल्ला प्रहरी परिसरका प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसहितका सुरक्षा युनिटका प्रमुख तथा प्रतिनिधिलाई बोलाएर छुट्टै सुरक्षा योजना तयार गरी लागू गर्न पनि उपत्यका प्रहरीले निर्देशन दिएको छ ।

विहीबार, १८ असोज २०८०, ०९ : ५७

प्रतिक्रिया