यस वर्षकाको दसैँ तिहारका लागि असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाले पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको बताए । व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्दै अडान राख्दै आएका थिए । मन्त्रालयमा भएको छलफलमा व्यवसायीहरूले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन ।
उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने, निर्णय गरेको छ।
अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिद्वारा टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया निरुत्साहित गर्ने, मुख्य सडकलाई मर्मत सम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायसँग अनुरोध गरी पठाउने तथा दसैँका लागि आवश्यक सवारीसाधनको व्यवस्था यातायात व्यवसायीले गर्ने निर्णय गरिएको थियो ।
नयाँ बसपार्क सञ्चालन गरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धकका अनुसार शनिवार बिहान ७ बजेदेखि अग्रिम टिकट बुकिङ खुल्ने गरी तयारी गरिएको जानकारी दिएको छ ।
प्रतिक्रिया