आर्थिक सङ्कटको अन्त्य गर्न नीतिगत योजना बनाएका छौँ : अर्थमन्त्री महत

६ महिना अगाडि

अर्थमन्त्री डा.प्रकाश शरण महतले देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गरेका छन् । नेपाली काँग्रेस चितवन क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको उद्घाटनमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको बाटो रहेकाले नआत्तिन आग्रह गरेका छन्।

अर्थमन्त्री डा.महतले भने “अब आर्थिक सङ्कटको अन्त्य हुने आशाका किरण पैदा भएको छ। मुलुकमा रहेको आर्थिक सङ्कट धेरै समय रहँदैन ।” आर्थिक सङ्कटको अन्त्य गर्न सरकारले नीतिगत योजना बनाएको उल्लेख गर्दै उनले भने, “प्राथमिकताका आधारमा लगानी गर्ने, जग्गाको कारोबार बढाउन प्रक्रियागत सुधार गर्ने र व्यवसायीलाई लगानीको वातावरण बनाउन सरकार लागि परेको छ ।”

काँग्रेसका प्रवक्तासमेत रहनुभएका डा.महतले अघिल्लो सरकारको जथाभाबी खर्च गर्ने प्रवृत्तिका कारण अर्थतन्त्रमा समस्या आएको र यसलाई नियन्त्रण गर्न सरकार लागि परेको बताएका हुन। उनले भने, “व्यक्तिले जथाभाबी खर्च नगर्ने, व्यवसायीले मनलाग्दी तरिकाले लगानी नगर्ने र सरकारले प्राथमिकताको आधारमा लगानी गर्ने हो भने अहिलेको सङ्कट टर्छ ।”

अर्थमन्त्री डा.महतले सामाजिक सञ्जालमार्फत नेपालको अर्थतन्त्रको विषयमा नियोजित रूपमा गलत प्रचार गरिएको गुनासो गरेका हुन । उनले भने, “गलत प्रचारका कारण अर्थतन्त्रको विषयमा निराशा छाएको छ, यही कारणले देश जटिलतातर्फ धकेलिएको हो ।” उनले पुँजी चलायमान नहुँदा पनि समस्या सृजना भएको बताएका छन् ।

६ महिना अगाडि

प्रतिक्रिया