केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धान बालीमा क्षति पुगेको छ । धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिएका छन् ।
पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् । अर्यालका अनुसार चितवनमा एक सातापछि अधिकांश स्थानमा लगाएको धान काट्न सुरु हुन्छ । उनले केही भागमा पाकेर काट्न तयार परेको धान पानीले ढलाएको बताए ।
समयमै मल, बीउ र सिँचाइको असुविधाबिच लगाएर भित्र्याउन ठिक्क पारेको धान पानीले डुबाएपछि किसान चिन्तामा छन् । चितवनमा २७ हजार हेक्टर हाराहारीमा धान खेती गरिँदै आइएको छ ।
यो पटक मनसुन ढिला बाहिरिएपछि देशभरका किसानलाई समस्या परेको हो । बढीमा तीन देखि पाँच दिनमा मनसुन पूर्णरुपले बाहिरिने मौनविद्को भनाई छ ।
प्रतिक्रिया