पछिल्लो केही दिनदेखि मौसममा सुधार आएको छ । निरन्तरको झरी पश्चात् मौसम सुधार आयसँगै देशका अधिकांश ठाँउमा यति बेलाको मौसम सफा रहेको छ भने केही स्थानबाट भने मनसुन अझै पूर्ण रूपमा बाहिरिएको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन आइतबारका दिन नेपालको कर्णाली प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पश्चिम भूभागबाट पनि बाहिरिएको छ।
सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भूभागबाट भने मनसुन गत असोज १९ गते नै बाहिरिएको थियो । हाल कोसी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।
कोसी, मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।
कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया