दशैका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुलेको छ। टिकट बुकिङ खुला भएसँगै बिहानदेखि नै गोङ्गबुस्थित नयाँ बसपार्कमा टिकट लिनेहरूको भिड लागेको छ। गत शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपछि आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो।
अग्रिम टिकट बुकिङ खुला गरिएसँगै यात्रुको चाप हुने स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ। कालोबजारीमा टिकट बिक्री हुन नदिन अनुगमन गरिने विभागको भनाइ छ।
नयाँ बसपार्क सहित कलङ्की, बल्खु, कोटेश्वरलगायत काठमाडौँका विभिन्न स्थानमा खोलिएका काउन्टरहरू पनि टिकट लिनेहरूको घुइँचो लागेको छ। भाडा दर बढाउन नपाएका व्यवसायीले टिकट नगदमा मात्रै दिने गरेको तर पछाडिका लागि बुकिङ गरेर राख्न नदिने गरेको यात्रुको भनाई छ ।
प्रतिक्रिया