काठमाडौँ महानगरपालिकाले आफ्नो आधिकार क्षेत्र विपरीत पानी उद्योगमा सिलबन्दी गरेको भन्दै नेपाल बोटल वाटर उद्योग सङ्घले आपत्ति जनाएको छ। हिजो मङ्गलवारका दिन रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सङ्घले महानगरले अधिकार क्षेत्र विपरीत उद्योगीलाई सुनुवाइको मौका नदिई बालाजुमा रहेको आक्वा ९९ को उद्योगमा सिलबन्दी गरेको प्रति आपत्ति जनाएका छन् ।
महानगरले पानी उद्योगी र उद्योगमाथि अधिकार क्षेत्रभन्दा बाहिर गएर हस्तक्षेप गरेको भन्दै उनीहरूले हिजोदेखि पानी उत्पादन बन्द गराएका छन्। बोटल वाटर उद्योग सङ्घका सचिव भरत बुढाथोकीले महानगरको कार्यशैलीका कारण पानी उद्योगीहरू मर्माहत भएको बताएका छन् ।
सोही सङ्घका महासचिव गोकुल थापाले विगत दुई वर्षदेखि खाद्यान्नको चरम मूल्यवृद्धि भइरहेको अवस्थामा पानी उद्योगीहरूले उपभोक्ताहरूको हितलाई ध्यानमा राखेर मूल्य नबढाएको बताए । आफूहरूले उपभोक्ताहरूको अधिकतम हित चाहे पनि अनुगमनका नाममा सरकारका जुन पायो त्यही निकायहरूले दुःख दिने काम गरेको उनको भनाई छ ।
‘हिजो बालाजु औद्योगिक क्षेत्रभित्र रहेको पानी उद्योगमा विना पुर्जी र विना आधार सिलबन्दी गरिएको छ ।’ उनले भने,‘हाम्रो पानी उद्योगसँग सम्बन्धित विषयमा कुनै पनि कारबाही र नियमन गर्न पाउने अङ्ग भनेको खाद्य तथा गुण नियन्त्रण विभाग हो ।’
जसलाई रहर लाग्यो उसैले उद्योग बन्द गराउँदै हिँडेको भन्दै उनले महानगरको उक्त कार्यको विरोध गरेका छन्। सङ्घले सरकारसँग विभिन्न ११ बुँदे माग राखेको छ। खाद्य स्वच्छता ऐन परिमार्जन हुन पर्ने, पानी उद्योगबाट उत्पादित जार बोतलको न्यूनतम मूल्य तय हुनुपर्ने, पानी उद्योगीलाई आवश्यक पर्ने मेसिन, गाडी, औजार र कच्चा पदार्थमा भन्सार छुट हुनुपर्ने, पानी उद्योगीले सहुलियतमा बैकिंङ कजा पाउन पर्ने, अनुगमन एकै निकायले गर्न पर्ने उनीहरूको माग छ ।
सङ्घका अध्यक्ष ध्रुब गौतमले पानीजस्तो अत्यावश्यक वस्तुलाई बजारमा हाहाकार बनाउनुको पछाडि धेरै ठुलो बाध्यता र विवशता लुकेको बताए । केही दिनअघि काठमाडौँ महानगरपालिकाले ग्लासमा ल्याएको पानीमा किरा देखाउँदै पानी उद्योगमाथि विभिन्न आरोप र लाञ्छना लगाएको उनको भनाई छ ।
प्रतिक्रिया