गोङ्गबुस्थित नयाँ बसपार्कबाट दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि समाचार तयार लेखन समयसम्म २५ हजार ४ सय ३१ जना यात्रुले अग्रिम टिकट लिएका छन् ।
असोज २२ गतेदेखि चाडपर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो । पहिलो दिन मात्रै टिकट लिनेको सङ्ख्या २४ हजार तीन सय ४० कटेको नयाँ बसपार्कका सञ्चालक पङ्कज मल्लले जानकारी दिएका छन् ।
सोमबार मात्रै टिकट बुकिङ खुला भए पनि अग्रिम टिकट लिनका लागि यात्रु आइतबार रातिदेखि नै नयाँ बसपार्कमा आएर लाइन लागेको मल्लले जानकारी दिए। नयाँबसपार्कबाट देशको ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत हुँदै आएका छन् ।
नयाँ बसपार्क क्षेत्रमा चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप जनशक्ति परिचालन गरेको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले यात्रुहरूको सुरक्षाका लागि ५० भन्दा बढी प्रहरी सादा पोसाकमा परिचालन गरिएको जानकारी दिए ।
सरकारले सोमबारदेखि लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनलाई लक्ष्य गरी अग्रिम टिकट खुलाए पनि छोटो दूरीमा जाने सवारी साधनका लागि भने घटस्थापनादेखि खुलाउने तयारी गरेको छ ।
प्रतिक्रिया