(एनआरएनए) जापानको विशेष सांगेतिक कार्यक्रम सहित, विद्यार्थीलाई झोला वितरण

विहीबार, २५ असोज २०८०, ०७ : ५८

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) जापानले बुधवार एक विशेष कार्यक्रम सम्पन्न गरेको छ। एनआरएनए डे  (एनआरएनए दिवस) को अवसरमा पारेर राजधानीमा विशेष राष्ट्रिय समन्वय परिषद् (एनसीसी) जापानले विशेष कार्यक्रम सम्पन्न गरेको हो। 

इन्द्रेणी कार्यक्रमको स्टुडियोमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानका साथ विभिन्न जिल्लाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला हस्तान्तरण गरिएको एनआरएनए जापानका प्रवक्ता खगराज गौतमले जानकारी दिए। उनका अनुसार विद्यालयहरूलाई स्थानीय तहका जनप्रतिनिधि र अन्य प्रतिनिधिमार्फत झोला हस्तान्तरण गरिएको हो ।

उनका अनुसार विभिन्न पालिका मातहतका १२ विद्यालयका गरिब तथा जेहेन्दार  विद्यार्थीलाई वितरण गर्ने गरी कुल ५०० थान झोला वितरण जापानबाट प्राप्त भएको छ। सबै ब्याग जापानबाट नआइसकेको भन्दै उनले आएका मध्येबाट सीमित थान ब्याग सम्बन्धित विद्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरिएको बताए। बाँकी ब्याग प्राप्त हुने बित्तिकै तोकिएबमोजिम थप हस्तान्तरण गरिने उनको भनाइ छ। 

उनका अनुसार गलकोट नगरपालिका, ठोरी गाउँपालिका, मुसिकोट नगरपालिका, आमाछोदिङ्मो  गाउँपालिका, जलजला गाउँपालिका, फिदिम गाउँपालिका, बराह ताल गाउँपालिका, बुटवल गाउँपालिका, सोडारी  गाउँपालिका, तारकेश्वर  गाउँपालिका र बेनी नगरपालिकाका मातहतका तोकिएको विद्यालयमा सुविधा सम्पन्न  ब्याग वितरण गर्ने निर्णय भएको छ।

यी विद्यालयलाई उपलब्ध भएसम्म १० देखि ३० वटासम्म ब्याग उपलब्ध गराइने बताइएको छ। एनआरएनए डे भव्य रूपमा मनाउने राष्ट्रिय समन्वय परिषद्को निर्णय बमोजिम यस वर्ष नेपालका विभिन्न जिल्लामा रहेका जेहेन्दार  र विपन्न बालबालिकालाई एनआरएनए जापान क्षेत्रीय समिति सेन दाइका निवर्तमान संयोजक हरि श्रेष्ठको पहलमा एनआरएनए जापानलाई प्राप्त भएका ब्याग हस्तान्तरण गरिएको एनआरएनए जापानका अध्यक्ष सुदीप निरुरेले जानकारी दिए। 

उक्त ब्याग स्थानीय जापानी क्लबले श्रेष्ठमार्फत एनआरएनए जापानलाई उपलब्ध गराएको हो। पालिका अन्तर्गतको विद्यालयमा प्रदान गरिएको झोला काठमाडौँबाट लैजान र बिद्यार्थीसम्म पुर्‍याउन आवश्यक व्यवस्था स्वयम् सम्बन्धित विद्यालय वा पालिकाले खर्च बेहोरेको उनको भनाइ छ ।

एनआरएन जापानका अध्यक्ष सु दीप निउरेको  अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनएका केन्द्रीय उपाध्यक्ष गोविन्द प्रसाद श्रेष्ठ, एनआरएनए जापानका निवर्तमान अध्यक्ष शिव प्रसाद पौडेल, आइसिसी सदस्य सुपेन्द्र  घिसिङ, श्रवण सत्यास, एनआरएनए जापानका महासचिव टीकाराम खरेल, प्रवक्ता खगराज गौतमसहित अन्य अभियन्ताहरु विकास बस्नेत, देविका केसी, संगीता अधिकारी, हबल चन्द्र लामा, माधव प्रसाद खरेल, सुवास लामिछाने, सिद्धार्थ श्रेष्ठ, मुक्तिराज रेग्मीलगायतको सहभागिता थियो । 
 

विहीबार, २५ असोज २०८०, ०७ : ५८

प्रतिक्रिया