तस्बिर: फाइल
जीवित देवीका रूपमा मनाइने भक्तपुरको एकान्तकुमारी लुनिभा बज्राचार्यलाई आज बिहान कुमारी घर भित्र्याइएको छ।
कुमारी घर भित्र्याएपछि आजदेखि कुमारी एवं तलेजु जात्रा सुरु भएको मानिन्छ । घटस्थापनादेखि दशैभरि कुमारीघरमा विराजमान गराई कुमारी जात्रा मनाइने परम्पराअनुसार कुमारीलाई तान्त्रिक विधिअनुसार पूजा गरी भक्तपुर नगरपालिका क्वाठण्डौँस्थित कुमारी घरमा विराजमान गराई पूजा गरिएको तलेजुका प्रमुख नरेन्द्रप्रसाद जोशीले जानकारी दिएका छन् ।
तलेजुमा ऋग्वेद, यजुर्वेद, अथर्ववेद, सामवेद र चण्डी पाठ गरी राजोपाध्याय र कर्माचार्यले कुमारीको पूजा गरी कुमारी जात्रा मनाइने उनको भनाई छ । यो अवधिमा टिबुक्छेँमा रहने ११ जनाको गणकुमारीको समेत तलेजु ल्याएर पूजा गरिन्छ । कुमारीलाई आजै दरबार स्क्वायरस्थित चतुर ब्रह्म महाविहारमा लगेर पूजा गरी पुनः कुमारी घरमा लगेर विराजमान गराएपछि आजदेखि दशमीसम्म कुमारीको पूजा गर्न सर्वसाधारण आउने जोशीले बताएका छन् ।
दशमीको दिन दिन कुमारीको हातबाट तलेजुका पुजारी, मूल नाइके लगायतलाई साइतको टीका लगाइदिएपछि सर्वसाधारणका लागि कुमारीले टीका लगाइदिने परम्परा छ । सोही दिन कुमारीले कुमारी घरबाट आफ्नै जन्म घर जाने इच्छा प्रकट गरेपछि घर लैजाने परम्परा रहेको छ ।
त्यसै गरी नेपालकै मूल तलेजुका रूपमा लिइने भक्तपुर तलेजुमा बौद्धिक एवं तान्त्रिक पद्धतिअनुसार पूजा गरी दसैँ घरमा पाञ्चायन निर्णायक समितिले निर्धारण गरेको शुभ साइतमा जमरा राखिन्छ । घटस्थापनादेखि दशमीसम्म मूल गुठी, चौगुठी समुदायले श्रीद्धिमाजु देवीमा समेत पूजा अर्चना गर्ने परम्परा रहेको छ भने आजै भण्डार पोखरीमा समेत विशेष पूजा गर्ने परम्परा रहेको छ ।
प्रतिक्रिया