गैर आवासीय नेपालीलाई नागरिकता: अध्यक्ष आचार्य आज नेपाली नागरिकता प्राप्त गर्दै

मंगलबार, ३० असोज २०८०, ०८ : ४७

सरकारले आज(मङ्गलवार) बाट गैर आवासीय नेपाल (एनआरएन)लाई नेपाली नागरिकता दिने भएको छ। विश्व सम्मेलनको सन्दर्भ पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता वितरण सुरु गर्न लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको जानकारी अनुसार गैरआवासी नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुल आचार्यलाई पहिलो गैर आवासीय नेपाली नागरिकता दिन लागिएको हो । उनीसँगै एनआरएनएका पदाधिकारीलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरिने छ।

गत भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको नेपाल नागरिकता नियमावली तेस्रो संशोधनमा शपथको व्यवस्था राखिएको छ। गत जेठ १७ गते सरकारले नागरिकता ऐनमा गैर आवासीय नेपालीले नागरिकता पाउन सक्ने गरी संशोधन गरेको थियो।

संशोधित ऐनको दफा ७ (क)मा नेपाली नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिलाई तोकिएबमोजिम शपथ गराउनुपर्ने उल्लेख छ। गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैर आवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको छ। नागरिकता प्राप्त गरेपछि उनीहरूले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने छ।

मंगलबार, ३० असोज २०८०, ०८ : ४७

प्रतिक्रिया