काठमाडौँ - भक्तपुर जिल्ला अदालतले आफ्नो नयाँ भवनबाट सेवा सुरु गरेको छ । दसैँ विदालगत्तै कात्तिक १२ गतेदेखि नयाँ भवनबाट सेवा सुरु गरिएको हो । भक्तपुर जिल्ला अदालतका श्रेष्तेदार ऋतबहादुर पुलामी मगरका अनुसार दशैं विदा लगत्तै अब नयाँ भवनबाट सेवा सुरु गरिएको हो ।
दसैँ विदामा भक्तपुर जिल्ला अदालतमा रहेका अभिलेख, फर्निचर लगायतका सम्पूर्ण सामानहरु नयाँ भवनमा सारिएको थियो । दसैँ विदापछि अदालत खुल्नेबित्तिकै नयाँ भवनबाट सेवा सुरु गरिएको श्रेष्तेदार मगरले बताए ।
भक्तपुर जिल्ला अदालतको भवन निर्माणका लागि १ अर्ब ३९ करोडको टेण्डर आव्हान गरिएकामा अन्य सबै आवेदक अस्वीकृत भई केसी, शर्मा एण्ड समानान्तर जेभीले १ अर्ब ३५ करोड रुपैयाँमा टेण्डर पाएको थियो । २०७६ सालदेखि निर्माण सुरु गरी २०८० असोज १८ गते ठेकेदार कम्पनीले अदालत प्रशासनलाई भवन हस्तान्तरण गरेको थियो ।
भवनको इन्टेरियर डिजाइनिङको लागि नयाँ ठेक्का दिइएको छ । इन्टेरियर डिजाइनिङ र इन्सटलमेण्टका लागि हालसालै २ करोड १२ लाखमा ठेक्का दिइएको श्रेष्तेदार मगरले बताए ।
प्रतिक्रिया