नेपाललाई शतप्रतिशत क्यासलेस बनाए बैङ्क अस्पताल र विद्यालय बनाउन सकिन्छ: जय साह

शाहको दाबी: नेपाललाई तीन वर्षभित्र क्यासलेस र दश वर्षभित्र मनीलेस बनाउन सकिन्छ

५ महिना अगाडि

अनुसन्धानकर्ता जय साहले नेपाललाई शतप्रतिशत क्यास लेस बनाएर भष्टचारमुक्त   बनाउन सकिने दाबी गरेका छन् । बुधवार काठमाडौँमा पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै साहले आफूले अनुसन्धान गरेर ‘द कल्किस्ट मेनिफेस्टो’ नामक पुस्तक तयार पारेको बताएका छन्। 

हाल अमेरिकामा बस्दै आएका साह आफ्नो नयाँ भिजनलाई साकार पार्नको लागि नेपाल आएको बताएका छन्। उक्त पुस्तक नेपाललाई भ्रष्टाचारमुक्त बनाउन रोडम्याप साबित हुने उनको भनाई छ। नेपाललाई तीन वर्षभित्र क्यासलेस बनाउन सकिने र त्यसको दश वर्षभित्र मनीलेस बनाउन सकिने उनको भनाई छ।

 क्यास लेस सर्भिस दूर दराजमा रहेका र टेक्नोलोजी नजानेकाहरूले पनि सहज रूपमा प्रयोग गर्न सकिने उनले बताए । क्यास लेस सभिर्सका लागि आफूले स्मार्ट करेन्सीको परिकल्पना गरेको उनी बत्ताउँछन्। एउटा व्यक्तिका लागि विभिन्न दरका तीन वटा नोट दिने र त्यसमा बारकोड राखेर बैङ्कसँग लिङ्क गराएर सहज रूपमा प्रयोग गर्न सकिने उनको भनाई छ । 

‘मैले स्मार्ट करेन्सी भनेर एउटा कन्सेप्ट लन्च गरेँ । स्मार्ट करेन्सी भनेको के हो भने तपाईँको गोजीमा भएको पैसामा बारकोड हालिदिने र रिमोर्ट एरियामा भएका पसलहरूमा पनि बारकोड स्क्यानर हालिदिने । एउटा परिवारका लागि सरकारले तीन वटा करेन्सी फिक्स गर्नुपर्छ,’– उनले भने । 

आफूले अनुसन्धानबाट तयार गरेको पुस्तक र क्यास लेस सर्भिसले नेपालका लागि धेरै ठुलो उपलब्धि हुने उनले दाबी छ । नेपालमा यो व्यवस्था लागू गर्न सकिन्छ भनेर अनुसन्धानबाट प्रमाणित भएको उनको दाबी छ। उक्त अनुसन्धानको आधारमा क्यास लेस सर्भिस लागू गरेको खण्डमा नेपाल राष्ट्र बैङ्कबाहेक अन्य सबै बैङ्क बन्द हुने उनले बताए । उक्त बैङ्क रहेका स्थानलाई अस्पताल र विद्यालयको रूपमा प्रयोग गर्न सकिने उनले बताए । क्यास लेस व्यवस्थामा जाँदै गर्दा सराकारले आफ्ना नागरिकलाई शून्य ब्याजदरमा जति पनि ऋण दिन सक्ने उनको भनाई छ ।

‘नेपालमा एउटा पनि बैङ्क चाहिँदैन । क्यास लेस भएपछि सबै बैङ्क बन्द हुन्छ। अहिले भएका सबै बैङ्कहरूमा हस्पिटल, स्कुल खोल्न मिल्छ ।’ उनले भने, ‘जनताले जति लोन चाहियो, एक रुपैयाँ ब्याज नतिरी सरकारले जति बेला पनि लोन दिन मिल्छ ।’ 

आफ्नो अनुसन्धानले प्रमाणित गरेको व्यवस्था नेपालमा लागू गराउँदा नेपाल विश्वको पहिलो क्यास लेस देश बन्ने उनको दाबी छ । देशलाई क्यास लेस बनाएर नेपाललाई विश्वमा पहिलो भ्रष्टाचारमुक्त देश बनाउन आफू लागिरहेको उनले बताए । ‘नयाँ व्यवस्था आउँदै छ, यो व्यवस्थामा नेपाल विश्वमा पहिलो देश हुन्छ । हामी नेपाललाई तीन वर्षभित्र विश्वको पहिलो भ्रष्टाचारमुक्त देश बनाउन सक्छौँ । त्यही हाम्रो रोडम्याप हो,’– उनले भने । 
 

५ महिना अगाडि

प्रतिक्रिया