मट्का चियाको चुस्कीले कैयौँको आर्थिक जीवनमा थप्दै छ खुसी

४ महिना अगाडि

काठमाडौं – पछिल्लो समय देशभरि विभिन्न रेष्टुराँले माटोको कपमा चिया, माटोको हाँडीमा बिरियानी, माटोको कतारोरभाँडामा दही लगायतका खानेकुरा ग्राहकलाई पस्कने क्रम बढ्दो छ।

उनीहरूका अनुसार त्यस्ता भाँडाप्रति ग्राहकहरूको आकर्षण पनि बढ्दै गएको छ।

त्यो क्रम बढ्न थालेसँगै कतिपय महिलाले माटोका विभिन्न खालका भाँडा बनाएर मनग्ये आम्दानी गर्न थालेका छन्।

तालिम लिई उनीहरूले चिया खाने माटोको कप, लस्सी पिउने कप, दही राख्ने भाँडा, बिरियानी राख्ने मट्का बनाउने गरेका हुन्।

अतिरिक्त आम्दानी
घरको काम सकेर मट्का बनाउन थालेका महिलाहरू मासिक १० हजार रुपैयाँसम्म आम्दानी गर्न थालेको बताउँछन्।

त्यसले उनीहरूमा आत्मविश्वास मात्रै बढाएको छैन, कतिपय खर्चका लागि श्रीमान्‌सँग पैसा माग्नुपर्ने बाध्यताबाट पनि मुक्त भएका छन्।

हाल मट्का व्यवसाय सञ्चालन गरिरहेका पर्साका ३८ वर्षीय कौशलकिशोर सर्राफले कमजोर आर्थिक अवस्थाका कारण एक वर्षअघि विदेश जाने तयारी समेत गरिसकेका थिए।

matka

तर वीरगन्ज लगायतका सहरमा मट्का चिया पसल, क्याफे, रेष्टुराँ खुल्ने क्रम बढ्न थालेसँगै माटाका भाँडाका माग पनि सोही अनुसार बढ्न थाल्यो।

विदेश जाने सोच त्यागेर मट्का व्यवसाय सुरु गरेको १० महिनामै राम्रो आम्दानी गर्न थालेको सर्राफ बताउँछन्।

वार्षिक १५ हजार रुपैयाँमा जग्गा लिजमा लिई ऋण काढेर १५ लाख रुपैयाँको लागतमा सञ्चालन गरेको मट्का व्यवसायबाट उनी सन्तुष्ट देखिन्छन्।

“मट्का उद्योग चल्ने वा नचल्ने दोधारमा सुरुका तीनरचार महिना चिन्ता मै बित्यो, तर हिम्मत नहारीकन लागिरहेँ। अहिले पर्सादेखि बारा, बुटवल, पोखरा र सुर्खेतसम्म मट्का पठाउने गरेको छु,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

बढ्दो आकर्षण
गैरसरकारी संस्थाबाट मट्का बनाउने तालिम लिएका आठजना महिलालाई रोजगारी दिएका सर्राफ आउँदा दिनमा २० जनालाई रोजगारी दिने सोचमा छन्।

चिया, मिठाई र लस्सीका लागि मात्र नभई अन्य प्रायोजनका लागि पनि माटोका भाँडा बनाउने सोच रहेको उनी बताउँछन्।

मट्का चिया स्वादिलो हुनुका साथै वातावरणीय हिसाबले प्लास्टिकका भाँडाभन्दा स्वस्थकर भएकाले ग्राहकको आकर्षण बढ्दै गएको व्यवसायीहरू बताउँछन्।

पर्साको झौवाकी चन्दा देवी कुनै बेला आफ्ना श्रीमान् विदेसिनु परेको पीडा सम्झिँदै हाल मट्का उद्योगमा काम पाएर मासिक ९र१० हजार रुपैयाँसम्म आम्दानी गरिरहेकोमा खुशी व्यक्त गर्छिन्।

matka tea

“खेतीबारीमा काम गर्दा ५ किलो चामल बराबर पनि पारिश्रमिक नपाइने र मेहनत पनि दोबर लाग्छ। तर मट्का बनाउने काम गर्न पाएपछि अब श्रीमान्‌लाई पनि विदेशबाट फर्काउने आत्मविश्वास बढ्दै गएको छ,” बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।

मट्का एक पटक प्रयोग गरिसकेपछि पुनः प्रयोगमा नल्याइने गरिएकाले चोखोपनका कारण पनि आकर्षण बढेको हुनुपर्ने महिलाहरू बताउँछन्।

७५वर्षीया मन्जु देवी मट्का बनाउने काममा उमेरको कुनै सीमा नभएकोले पनि त्यसमा संलग्न हुन पाउँदा खुशी लागेको अनुभव सुनाउँछिन्।

“हिजोआज मलाई मन लागेको खान पनि पाएकी छु र लगाउन पनि पाएकी छु। मलाई चाहिने सरसामान निस्फिक्री किन्न पाएकी छु। म त एकदम खुशी छु,” बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।

प्लास्टिकका कतिपय भाँडालाई विस्थापित गर्न थालेको मट्का धेरैका लागि आम्दानीको राम्रो स्रोत पनि बनेको छ।

कौशलकिशोर सर्राफ जस्ता कतिपय युवायुवती पनि मट्का व्यवसायतर्फ आकर्षित हुन थालेका छन्।

बिबिसीबाट

४ महिना अगाडि

प्रतिक्रिया