काठमाडौं । यस साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ। यस साता सबैभन्दा कम कारोबार भएकोे छ । गत साता २१०९.१० विन्दुमा बन्द भएको नेप्से, यस साता १.९१ प्रतिशत अर्थात ४०.२० अंक घटेर २०६८.९० विन्दुमा झरेको छ।
यस साता ३ कारोबार दिनका लागि मात्र बजार खुलेको थियो। त्यसमध्येमा तीनै कारोबार दिन नेप्से घटेर बन्द भएको थियो। गत साता ११४ अंक बढेको बजारमा यस साता करेक्सन भएको हो। अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस साता नेप्सेमा करेक्सन भएको मानिन्छ । यस साता सेन्सेटिभ इण्डेक्स २.८२ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.५८ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८८ प्रतिशत घटेको छ।
त्यस्तै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ६ अर्ब २६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ५५ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ११.३२ प्रतिशत कम हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या १९.४५ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ७.५७ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ७६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १.९१ प्रतिशत अर्थात ६२ अर्ब रुपैयाँ घटेर ३२ खर्ब १३ अर्बमा सीमित भएको छ।
१३ उपसमूहमध्ये यस साता दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक १.९७ प्रतिशत बढेको हो भने म्युचुअल फण्ड उपसमूहको ०.८० प्रतिशत बढेको हो। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.९८ प्रतिशत घटेको छ। गत साता ३०८३.०२ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता २१५.२७ अंक घटेर २८६७.७५ विन्दुमा कायम भएको छ।
प्रतिक्रिया