दैनिक तीन घण्टा विद्युत् काटेर औद्योगिक क्षेत्रमा लोडसेडिङ अन्त्यको गफ

५ बर्ष अगाडि

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सोमबार दिउँसो एक सूचना जारी गर्यो र भन्यो ७३ मेगावाट विद्युत् प्रणालीबाट बिच्छेद भएको छ । हावा हुरीका कारण चिलिमेको २२ मेगावाट र मैलुङको ५ मेगावाट विद्युत् आइतबार देखि नै प्रणालीबाट बाहिर गएको थियो । यस्तै कुलेखानीको कूल ९२ मेगावाट मध्ये ४६ मेगावाट विद्युत् पनि जेनरेटरमा समस्या आएका कारण बन्द हुन पुग्यो । मर्मतका लागि भन्दै टनकपुर सवस्टेशनबाट आइरहेको विद्युत् समेत अवरुद्ध भयो ।

पोखराको प्रसारण लाइनमा समेत समस्या आयो । प्राधिकरणले हावा हुरीका कारण प्रसारण प्रणालीमा समस्या आएको भन्दै सूचना जारी गर्यो । यो पछिल्लो तथ्य भयो । हावा हुरीका मौसमका कारण प्रणालीमा समस्या आउनु सामान्य कुरा हो । प्राकृतिक कारणबाट समस्या आउनु प्राधिकरणको वश भन्दा बाहिरको विषय हो । यसलाई उपभोक्ताले सहज रुपमा नै लिए र प्राधिकरणको आग्रहलाई स्वीकार गरे ।

गत वैशाख २९ गते देखि औद्योगिक करिडोरमा लोडसेडिङ अन्त्य भएको घोषणा गरियो । नयाँ सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले नयाँ सरकारको अनुभूति दिलाउन भन्दै औद्योगिक करिडोरको लोडसेडिङ अन्तय गर्न निर्देशन दिए । प्राधिकरण लाग्यो र घोषणा पनि गर्यो औद्योगिक क्षेत्रको लोडसेडिङ अन्तय भयो ।

औद्योगिक करिडोरमा लोडसेडिङ अन्तय भएको घोषणा गरेकै दिन महेन्द्रनगरबाट सुरु भएको आँधी झापाको पाडाजुंगीसम्म पुग्यो । हावा हुरीले ३०० वटा ट्रान्सफर्मर ढाल्यो । दर्जनौ स्थानमा प्रसारण लाइनमा क्षति पु¥यायो । प्राधिकरणले मर्मत जारी रहेको भन्दै सूचना जारी गर्यो, त्यसलाई समेत उपभोत्तःाले पत्याए ।

सरकारको निर्देशनमा प्राधिकरणले औद्योगिक क्षेत्रमा लोडसेडिङ हटाएको सगौरव सार्वजनिक गरेको भए पनि औद्योगिक क्षेत्रमा हाल अघोषित लोडसेडिङ रहेको छ । विरगन्ज औद्योगिक करिडोरमा ट्रिपिङ सबैभन्दा बढी रहेको छ । प्राधिकरणले कन्स्ट्यान्ट सप्लाई दिन नसक्दा ट्रिपिङ हुने गरेको छ । प्रसारण पणालीमा सुधार नभएका कारण उद्योगका मेशिन समेत बिग्रने अवस्थामा पुगेका छन् । उद्योगीले प्राधिकरणलाई पटक पटक समसया समाधानका लागि आग्रह गरेको भएपनि समाधान हुन सकेको छैन ।

विरगन्ज मात्रै नभई प्रसारण प्रणालीमा रहेको समस्याका कारण हेटौडा औद्योगिक करिडोरमा समेत समस्या खडा भएको छ । विराटनगर, भैरहवा र काठमाडौँ औद्योगिक क्षेत्र समेत ट्रिपिङको मारमा परेको छ । पूर्वाधारको अभावमा समस्या आएको जानकारी प्राधिकरणलाई छ । समस्या समाधानका लागि पहल भइरहेको पनि बताएको छ । लोडसेडिङ अन्त्यको घोषणा गरिएपछि पनि अघोषित लोडसेडिङका कारण उद्योगी व्यवसायी हैरान भएका छन् ।

नियमित विद्युत् पाइने भयो भन्दै खुसी भएका व्यवसायी पछिल्लो दिनमा अघोषित विद्युत् कटौतीका कारण आफूहरु झन् मर्कामा परेको भन्दै गुनासो गरिरहेका छन् । प्राधिकरणको जिल्लास्थित वितरण केन्द्र, प्रदेश कार्यालय र केन्द्रीय कार्यालयमा समेत उजुरीको चाङ लागेको छ । ट्रिपिङका कारण मेशिन जलेको, अघोषित रुपमा विद्युत् काटिदा त्यसबाट समस्या पैदा भएको तथा प्राविधिक कारण भन्दै बिना सूचना विद्युत् काटिएको जस्ता दर्जनौ गुनासा दैनिक आउने गरेको छ ।

नियमित सप्लाईको आशमा रहेका उद्योगी तथा व्यवसायी प्राधिकरणको पछिल्लो व्यवहारबाट हैरान भएका छन् । नियमित विद्युत् दिन नसक्ने भए घोषणा गरेरै लोडसेडिङ भने पनि हामी सहन सक्छौ । तर लोडसेडिङ अन्त्यको घोषणा गरेर बिना सूचना एवम् जानकारी विद्युत् काटिनु भने जायज नभएको उनीहरुको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष पशुपति मुरारकाअनुसार भैरहवा औद्योगिक करिडोरमा सबैभन्दा बढी समस्या देखिएको छ । उनको अर्घाखाँची सिमेन्ट उद्योगमा समेत नियमित विद्युत् आपूर्ति हुन सकेको छैन । जसका कारण भटटी तताउनका लागि अझै जेनेरेटरको प्रयोग गर्नु परिरहेको छ ।

औद्योगिक क्षेत्रमा लोडसेडिङको अन्त्य भएपछि एकाध दिन मात्रै नियमित विद्युत् आपूर्ति हुन सकेको छ । यस्तै राजधानीमा पनि प्राविधिक समस्याका कारण भन्दै दैनिक आधा घण्टादेखि एक घण्टा सम्म सेक्टर वाइज बत्ती काटिएको छ । प्राधिकरणले प्राविधिक समस्या बताउने गरेको छ । यद्यपी प्राविधिक समस्याका कारण विद्युत् काटिनुलाई लोडसेडिङ नभन्न प्राधिकरणले आग्रह गर्दै आएको छ । औद्योगिक करिडोरका ग्राहकले भने नियमित विद्युत् उपलब्ध हुन नसके दैनिक तीन घण्टासम्म लोडसेडिङ गर्दा समेत आफूहरुलाई समस्या नपर्ने बताउँदै आएका छन् । कित नियमित विद्युत् देऊ होइन सकिदैन नै भने दैनिक तीन घण्टा हामी सहन गर्न सक्छौ ।

प्राधिकरणले भने ट्रिपिङको समस्या समाधान गर्न लागिपरेको दावी गरेको छ । वर्षाकालमा केही स्थानमा समस्या आउनु सामान्य नै हो । प्राधिकरण लागि यो मौसम सबैभन्दा बढी खराब समय हो । बर्षा , हिलो आदि कारणले समस्या भएको स्थानमा मर्मतका लागि जान समेत केही समय लाग्ने, समस्या पत्ता लगाउन नै समय लाग्ने गरेको छ । उसले सामान्य प्राविधिक विषयमा सहयोग गर्न आग्रह गरेको छ ।

हामी नियमित विद्युत् दिन सक्षम छौ, विद्युत् उपलब्ध छ, तर प्राकृतिक कारण तथा प्राविधिक जटिलताका कारण उत्पन्न हुने समस्या समाधानका लागि भने सहयोग गर्न उसले उपभोक्तालाई आग्रह गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया