स्वास्थ्य केन्द्रको ‘भवन भव्य, उपचार छैन’

४ बर्ष अगाडि

एक दशक लगाएर निर्माण गरिएको नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र अहिले पनि समस्यै समस्याग्रस्त बनिरहेको छ । १८ महीनामा निर्माण पूरा गर्नुपर्ने सम्झौताका साथ काम शुरु गरिएको उक्त तीनतले भवन १० वर्षमा भर्खरै मात्र पूरा भएको छ ।
 
केन्द्रमा खानेपानी, बिजुलीका साथै चिकित्सक र औषधिको व्यवस्थापनमा कसैको ध्यान जान सकेको छैन । केन्द्रमा औषधि र चिकित्सकको अभावमा गाउँलेले अझै प्रभावकारी सेवा पाउन सकेका छैनन् । स्वास्थ्य केन्द्रको भवन भव्य बनाइएको छ । भवन हेर्दा कुनै ठूलो अस्पतालभन्दा कम छैन, तर त्यहाँ उपचार भने असम्भवजस्तै छ । 
 
केन्द्रमा चिकित्सक र आवश्यकताअनुसारको औषधि ढुवानीका लागि गाउँपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयसमेत उदासिन रहँदै आएको छ । स्वास्थ्य केन्द्रका इञ्चार्ज मोहम्मद तैराव राईले नवनिर्माण गरिएको भवनमा बिजुली–पानीको सहज पहुँचसमेत नभएको बताए । उनी भन्छन्, “बिजुली पानीको त राम्रो व्यवस्था छैन, औषधि र चिकित्सक त कुरै छोड्नुहोस् ।”

उक्त केन्द्रमा दैनिक ४०÷५० बिरामी आउँछन्, तर सामान्य रोगका समेत बिरामीलाई सिफारिश गर्नेबाहेक अरू उपाय छैन । स्वास्थ्य संस्थामा आवश्यक आधारभूत प्रविधि र जनशक्ति नहुँदा यहाँका बिरामी नेपालगञ्ज अथवा भारत जान बाध्य छन् । यहाँ चिकित्सकसहित १३ स्वास्थ्यकर्मीको दरबन्दी छ । अहिले १० कार्यरत छन् । उक्त स्वास्थ्य केन्द्रमा चिकित्सक आउँदैनन् । 

चिकित्सकको अभावमा अनमी र नर्सले स्वविवेक प्रयोग गरेर उपचार गर्नुको विकल्प छैन । स्टाफ नर्स मीरा रावलले चार वर्षदेखि स्वास्थ्यचौकीमा काम गरिरहेको बताए । “विशेषज्ञ चिकित्सक नहुँदा बिरामीलाई निको हुने आश्वासन दिएर पठाउनुबाहेक अरु विकल्प छैन”, रावलले भनै, “भवन बन्दैमा उपचार पाइँदैन ।” बिरामीले समयमै प्रभावकारी उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको उनी बताउछन् । 

गाउँमै स्वास्थ्य संस्था भएपनि औषधि र चिकित्सको अभावले आफूहरु सानो रोगको उपचारका लागि पनि महङ्गो रकम खर्च गरेर भारत जाने गरेको नरैनापुर–३ की रजिया खाँ बताउछन् । आर्थिक अवस्था कमजोर रहेकी उनी त्यहाँ जाने आउने भाडा, खाने खर्च र उपचार खर्च गरी एक पटकमा रु ३० हजार खर्च हुने गरेको खाँको भनाइ छ । उनका अनुसार उक्त स्वास्थ्य संस्थाको अत्याधुनिक भवन बने पनि चिकित्सक र औषधि नहँदा बिरामीलाई झनै समस्या छ ।

एमबीबीएस चिकित्सकको दरबन्दी पुरानै भएको गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोइन खाँ बताउछन् । उनका अनुसार चिकित्सक स्थायीरूपमा यहाँ बस्दैनन् । औँशीपूर्णिमाजस्तै आउनेजाने मात्र हो । चिकित्सकको दरबन्दी रहेको उक्त संस्था लामो समयदेखि अहेव, अनमीको भरमा चलिरहेको छ । गम्भीर अवस्थाका बिरामीले तुरुन्त उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको स्टाफ नर्स रावलले बताए ।

“गाउँकै अस्पतालमा सेवा पाए अन्यत्र जानु पर्दैनथ्यो”, स्थानीय अर्जुन यादवले भने, “भवन बने पनि जाँच नहुँदा आकस्मिक बिरामीलाई झनै समस्या छ ।” उनले नरैनापुर क्षेत्रका स्थानीयवासी बिरामी हुँदा उपचारका लागि भारत जाने गरेको बताए । “यहाँबाट उपचारका लागि भारत नै जानुपर्छ ।” त्यहाँ जानेआउने भाडा, खाने खर्च र उपचार खर्च गरी एक पटकमा रु २० देखि ३० हजार खर्च हुने गरेको उनको भनाइ छ । 

स्थानीय सैयद मुसताक अहमद शाहले १० कट्ठा जमीन स्वास्थ्य केन्द्रलाई दान गर्नुभएको थियो । त्यही जमीनमा अहिले प्राथमिक स्वास्थ्य केन्द्रको भवन बनेको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक खाँका अनुसार विसं २०५० मा नरैनापुरमा स्वास्थ्यचौकी स्थापना भएको थियो । भवन निर्माणका लागि विसं २०६६ मा बोलपत्र भएको थियो । रु तीन करोड ४० लाखमा भवन बनेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया