सशस्त्र प्रहरीका यी जवान, जसले नेपालमा भन्दा भारतमा प्रसिद्धी कमाए

५ बर्ष अगाडि

काठमाडौं-सशस्त्र प्रहरीका जवान दिनेश सुनार गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुईपटक नाम लेखाएका कारण नेपालमा भन्दा भारतमा प्रसिद्धभएका छन् ।

दिनेश नेपालमा भन्दा पनि भारतीय मिडियामा छाउनुको कारण उनले गिनिज बुकमा लेखाएको शीर्षकका कारण हो । ‘मस्ट ट्विस्टिङ ब्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा उनले गिनिज बुक अफ वल्र्ड रेकर्ड दर्ता गराएका थिए । यो विषयमा अहिलेसम्म गिनिज बुकमा कसैले पनि नाम दर्ता गराएका छैनन् ।

न्यूनतम १५ पटकसम्म गर्नुपर्ने गिनिज बुकमा उल्लेख रहेको रेकर्ड तोड्दै उनले भने, ‘मैले १८ पटकसम्म गरेर देखाएँ, यति गरेर मैले देशको नाम विश्वमा चिनाउन सकेँ ।’ उनले द मस्ट ब्याकवार्ड समरसाउट वाल इन ३० सेकेन्डमा रेकर्ड कायम गरेका छन् । ३० सेकेन्डमा १६ पटकको रेकर्ड तोडिदिए । उनले सोही समयमा १५ पटक गरेर देखाए ।

एकपटक गिनिज बुकमा नाम लेखाएपछि दिनेश सुनारलाई त्यसको भोक मेटिएन । अमेरिका पुगे, तालिम पनि गरे तर फेरि नेपाल फर्किएर अर्को रेकर्ड तोडेर देखाए । अब, तेस्रोपटक गिनिजमा नाम लेखाउने तयारीमा जुटेका छन् उनी ।

उनी पहिलोपटक गिनिज बुकमा नाम लेखाउनासाथ भारतीय मिडियामा भाइरल भएका थिए । ‘पहिलोपटक यो शीर्षकमा नाम दर्ता गराउन सफल भएका कारणले नै मेरो भारतीय मिडियामा व्यापक चर्चा भयो । नेपालमा यसको महŒव कम बुझेजस्तो लागेको छ,’ उनले भने, ‘तर यही नामले म नेपाल चिनाउनेछु ।’

सशस्त्र प्रहरीका तत्कालीन प्रमुख सनतकुमार बस्नेतले उनको जिम्न्यास्टिक देखेर खोटाङबाट टपक्क टिपेर ल्याएका थिए । त्यसपछि दिनेश सशस्त्रमा जागिरे भए । तर, महानिरीक्षक बस्नेत उनमा रहेको प्रतिभाले ठाउँ पाउला कि नपाउला भन्ने चिन्तामा थिए ।

सशस्त्र प्रहरी संगठनभित्र उनलाई एउटा अब्बल ‘पार्कर’ भनेर चिनिन्छ । पार्कर जिम्न्यास्टिकको परिष्कृत नाम हो । दिनेश यति तीक्ष्ण छन् कि उनको तुलना सम्भवतः दक्षिण एसियामै कसैसँग हुँदैन । रबर जस्तो छ, उनको ज्यान । जता खुम्च्याए पनि खुम्चिने प्रकारको ।

उनले पार्कर थालेको १० वर्ष पुग्यो, सशस्त्रमा काम थालेको सात वर्ष । उनी जागिरे हुनुपूर्व नै हलचोकमा ल्याइएका थिए ।

वल्र्ड फ्री रनिङ पार्कर फेडेरसनको निम्तोमा उनी वल्र्ड च्याम्पियनसिपमा सहभागिताको तयारीका लागि अमेरिकाको फ्लोरिडा पुगेका थिए । विश्वका विभिन्न मुलुकका अब्बल खेलाडीसामु उनले सुखद प्रदर्शन गरे । ८० जनामा उत्कृष्ट ८ मा परे उनी । राजधानी दैनिकमा खबर छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया