आजदेखि पुनरकर्जा कार्यविधि लागू, झुठ्ठा विवरण पेश गरेमा बैंकको सञ्चालकलाई समेत कारवाही

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आजदेखि (माघ १ गते) नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यविधि लागू गरेको छ । राष्ट्र बैंकले हिजा नै उक्त कार्यविधी जारी गर्दै आजदेखि लागू हुने जानकारी दिएको हो ।

राष्ट्र बैंकले पहिलो पटक पुर्नकर्जा सम्बन्धी कार्यविधी लागू गरेको हो । यसअघि यसका लागि छुट्टै नीतिगत व्यवस्था थिएन । नेपाल राष्ट्र बैैंक ऐन र एकीकृत निर्देशन मार्फत नै यसबारे आवश्यक नीतिगत व्यवस्था गरिएको थियो । 

‘पुनरकर्जा’ भन्नाले तोकिएका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको असल कर्जाको धितोमा नेपाल राष्ट्र बैंकबाट उपलब्ध गराइने कर्जा हो । यो कर्जाको अवधीमा बढीमा एक बर्ष सम्म हुन सक्ने बताइएको छ । 

बैंक वा वित्तीय संस्थाले पुनरकर्जा सुविधा प्राप्त गर्नका ग्राहक ऋणीले पुनरकर्जा सुविधाको लागि पेश गरेको निवेदन, कम्पनी दर्ताको प्रमाण–पत्र, प्यान दर्ता प्रमाण पत्र, प्रबन्धपत्र, नियमावली, कम्पनीको लेखापरीक्षण गरिएको पछिल्लोआर्थिक वर्षको वित्तीय विवरण, पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाण पत्र, कम्पनी सम्बन्धी कर्जा सुचना केन्द्रको विवरण लगायतका विवरण राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग वा बैंकको प्रदेशस्थित कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ ।

इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले पुनरकर्जा माग गर्दा सबै प्रदेशका ग्राहक ऋणीलाई समेटिने गरी माग गर्नुपर्ने व्यवस्था गरिएकोछ ।

आवेदत प्राप्त भएपछि बैंक तथा वित्तीय संस्था नियमन विभागले प्राप्त आवेदन तथा कागजातको आधारमा पुनरकर्जाको आवेदनलाई प्राथमिकता निर्धारण गरी छनौट तथा कर्जाको अवधि तय गर्नेछ ।

राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र, ग्राहक ऋणीको व्यवसाय/परियोजना रहेको भौगोलिक क्षेत्र,  व्यवसाय/परियोजनाबाट अर्थतन्त्र र रोजगारीमा पुग्न सक्ने योगदान,  स्थापनाकाल तथा मुनाफाको स्थिति, उद्यमी तथा उद्यमशिलतामा हुने विकास, ऋणीको वित्तीय अवस्थानुसार सहुलियतको आवश्यकताका आधारमा पुर्नकर्जा प्रदान गर्न सकिने छ । 

एक पटक लिएको पुनरकर्जा चुक्ता गरिसकेपछि ग्राहकले नवीकरणको लागि माग गर्न सक्नेछन् ।

कारवाही सम्बन्धी व्यवस्था
निर्धारित मितिमा पुनरकर्जा रकमको सावाँ/ब्याज असुल उपर हुन नसकेमा थप तीन प्रतिशतको पेनाल ब्याजदर सहित सम्बन्धित बैंक तथा वित्तीय संस्थाको बैकिङ्ग कार्यालय स्थित खाता खच गरी रकम असुल उपर गरिने छ । यस्ता बैंक तथा वित्तीय संस्थाले जरिवाना तिरेको मितिले छ महिनासम्म पुनरकर्जाको लागि आवेदन दिन योग्य हुनेछैनन्। 

झुठ्ठा विवरण पेश गरी पुनरकर्जा माग गरेमा÷प्राप्त गरेमा त्यस्तो पुनरकर्जा प्राप्त गर्ने इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको पुनरकर्जा माग गर्ने अधिकारी (संचालक समिति समेत) लाई नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिमको कारवाही गरिने बताइएको छ। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया