गलकोटमा सभागृह निर्माण

४ बर्ष अगाडि

धेरै स्थानमा जग्गा छनोटसमेत नभएको समस्या झेलिरहेका स्थानीय तहबीच गलकोट नगरपालिकाले आफ्नै सभाहल बनाएर प्रयोगमा ल्याएको छ । वडा नं २ को नरेठाँटीमा गत वर्षको गौरवको योजनाअन्तर्गत सभाहल बनाएको थियो । हलमा नगर परिषद्समेत गरेर औपचारिक थालनी भइसकेको हो । 

जिल्लाका १० वटा पालिकामध्ये पहिलो पटक सभाहल सम्पन्न गरेर आफ्नै नगरसभासमेत सम्पन्न गर्ने गलकोट पहिलो भएको छ । यहाँका कतिपय नगर तथा गाउँपालिकाले जग्गा व्यवस्थापनसमेत गर्न नसकेर सभाहल बनाउने योजना अलपत्र परेका छन् । गत वर्षको ६५ लाख रुपैयाँ विनियोजन गरेर नगरपालिकाले भवन बनाएको हो । दुईतले यो भवनको तल्लो तल्लामा वडा नं २ को कार्यालय सञ्चालन हुनेछ । माथिल्लो तलामा सभाहल बनाइएको हो । भवनमा दुई वटा शौचालय, काउन्टर कक्षसमेत राखिएको छ । 

झण्डै २०० जना सहभागी भएर कार्यक्रम गर्न मिल्ने गरी सभाहल निर्माण भएको वडा नं २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए। “अघिल्लो वर्ष हामीले हरेक वडामा गौरवका योजना सञ्चालन गरेका थियौँ, अहिलेसम्म पूरा भएको यो मात्र एउटा योजना हो”, भण्डारीले भने।  “विद्यालय शान्तिक्षेत्र घोषणा भए पनि कार्यक्रम भइरहन्थे, अब सहज हुनेभयो”, भण्डारीले भने, “पहिलो पटक प्रयोगमै ल्याएर देखाउने काम हामीले थाल्यौँ ।” 

ताराखोला गाउँपालिकाले पनि भवन बनाउने काम थालेको छ । ताराखोलाले भने झण्डै ७०० जना अट्न सक्नेगरी बहुद्देश्यीय भवन बनाएको हो । आगामी असार मसान्तसम्म सक्ने लक्ष्य राखिएको यो भवनका लागि भने प्रदेशको साझेदारीमा रु चार करोड लगानी गर्नेछ । जग्गा अभावमा बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा आएको बजेट सदुपयोग हुन सकेको छैन । अन्य पालिकामा पनि जग्गा खोजी भइरहे पनि सभाहल बनाउन भने सकेका छैनन् ।

अबदेखि नगरपालिकाले आफ्ना कार्यपालिका बैठक र सभासमेत सम्भव भएसम्म यहीँ गर्ने उनले बताए। नगरपालिकाले बालमैत्री नगर बनाउने तयारी गरेको छ । त्यसका लागि सबै वडामा पूरा भएका सूचकको सङ्कलन गरेर घोषणाको मिति तय गर्ने तयारी गरिरहेको उपप्रमुख रेणुका काउचाले बताए। 

४ बर्ष अगाडि

प्रतिक्रिया