‘द भ्वाइस अफ नेपाल’ का विजेता सिडी विजय अधिकारीले गरो बिक्रम बराललाई आईडल बनाउन अपिल, ५० हजार रुपैयाँ गरे सहयोग

५ बर्ष अगाडि


केहि दिन अघि मात्र कतारको दोहामा सम्पन्न ‘दि भ्वाइस अफ नेपाल’ को फाइनलबाट विजेता बन्न सफल भएका पोखराका सिडी विजय अधिकारीले नेपालको अर्को गायन रियालिटी शो ‘नेपाल आइडल’ को दोस्रो संस्करणका अन्तिम प्रतिस्पर्धी पोखराकै बिक्रम बराललाई जिताउन भोटिङ अपिल गरेका छन् । 

उनले आफ्नो जन्मोथलो पोखरामै आएर आफुलाई भोट गरि जिताउने सबै आफ्ना प्रशंसकलाई धन्यवाद दिदैं नेपाल आइडलका प्रतिस्पर्धी बिक्रम बरालका निम्ति पनि  भोट गर्न अपिल गरे । 

मंगलबार पोखरा आईपुगेका सिडीले बुधबार बिक्रम बराल जिताउ अभियान समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बिक्रमका लागि भोट मागेका हुन् । 

सिडीले आफुलाई जिताउन गठन गरिएको सहयोग समितिका माध्यम बिक्रमका लागि ५० हजार रुपैयाँ समेत हस्तान्तरण गरे । 

‘हामी पोखरामा एउटै स्कुल कलेजमा पढेका थियौ’, उनले भने, ‘बिक्रम बराल एक राम्रो प्रतिभा भएका गायक हुन ।’ जसरी बिक्रम बराल सहयोग समिति मेरो जितमा सम्मेलित हुनु भयो । त्यसरीनै बिक्रमलाई आइडल बनाउन आफु पनि लागि पर्ने प्रतिबद्धता उनले जनाए । 

बिक्रम बराललाई जिताउन मेरो पनि पूर्ण समर्थन रहने छ, उनले भने । आफुलाई जसरी द भ्वाईस अफ नेपालको टाइटल जिताउन देशविदेशबाट सहयोग गर्नुभयो त्यसरीनै बिक्रमलाई पनि आइडल बनाउन सहयोग गर्न सिडीले आग्रह गरे । 

स्कुल देखि संगीत शिक्षा समेत एकै ठाउँमा लिएको बताउदै सिडीले पोखरेलीहरुबाट जसरी जुन किसिमको साथ आफुलाई मिलेको छ त्यसरीनै बिक्रमलाई जिताउनमा कुनै दुईमत नरहेको उनले उल्लेख गरे । 

उनले पत्रकार सम्मेलनमै भोट अपिल गर्दै मोबाइलको म्यासेज बक्समा गई ०३ टाईप गरि ३१००९ मा एसएमएस गर्न आग्रह गरे । रेष्पेक्ट एण्ड राईज मार्फत पनि भोटिङ गर्न उनले अपिल गरे । 

नेपाल आइडलको फाइनल शुक्रबार हुदैं छ । काठमाडौंको पुलचोक स्थित ईण्जिनियर क्याम्पसको चौरमा हुने फाइनलमा पोखराका बिक्रम बरालले पनि प्रतिस्पर्धीको रुपमा गाउने छन् । 

बिक्रमलाई जिताउन भोटिङ अन्तर्गत जज मार्फत ३३ प्रतिशत, रेष्पेक्ट एण्ड राईज मार्फत ३३ प्रतिशत र मोबाइल एसएमएस मार्फत ३३ प्रतिशत भोटको आवश्यकत्ता रहेको बिक्रम बराल जिताउ अभियान समितिका महासचिव मनकुमार श्रेष्ठले जानकारी गराए । 

उनका अनुसार बिक्रमलाई जिताउन देश लगायत विदेशबाट लाखौ सहयोग आइरहेको छ । 

यस्तै सहयोग नेपाल आइडलको अन्तिम सम्म निरन्तर रहे बिक्रम बराल नेपाल आइडलको विजेता हुनमा कुनै दुईमत नरहेको उनको भनाई थियो । 

यस्तै बिक्रमलाई नेपाल आइडल बनाउन निलिमा थापा मगर सहयोग समितिबाट ५ हजार रुपैयाँ संयोजक विनित जोजिजुले हस्तान्तरण गरे । रुपाकोट सुनचाँदी दोकान महेन्द्रपुल मार्फत पनि ५० हजार भोट बराबरको रकम हस्तान्तरण गरिएको छ । 

त्यस्तै भक्ति संगीत नेपालबाट पनि ५ हजार रुपैयाँ सहयोग गरिएको छ । सहयोगी सम्पुर्ण मनलाई बिक्रम बरालका बुबा शन्तराम बरालले धन्यवाद दिदैं आफ्नो परिवारको आर्थिक स्थर कमजोर भएकाले परिवारले मात्र केहि गर्न नसक्ने उल्लेख गरे । 

उनले आफु  अर्काको मजदुरी कालिगढ काम गरेर घर धानिरहेका बेला परिवार बाट मात्र भोटिङको लागि आवश्यक पर्ने रकम नभएको बताए । ‘मेरो आफ्नो घर पनि छैन’, उनले भने, ‘अर्कांको झुपडीमा त्यो पनि भाडामा बसिरहेका छौ ।’ अनि कहाँको हाम्रो यस्तो हैसियत होस लाखौ खर्च गर्ने । उनले छोरालाई भोट गरि जिताउन सबैमा आग्रह गरे । 

शुक्रबार हुने फाइनलमा छोराले नेपाल आइडलको ताज उचालेको हेर्ने रहर छ, उनले भने । आशा पनि उत्तिकै छ जित्छ भन्ने । ‘प्रशंसाका आधारमा त मेरो छोरा नेपाल आइडल बनिसकेको छ’, उनले भने,  ‘तर भोटका आधारमा पनि छोरालाई नेपाल आइडल बनाउन उनले सबैमा आग्रह गरे । 

कार्यक्रममा बिक्रम बराल जिताउ अभियान समितिले सिडीलाई सम्मान समेत गरेको थियो । बिक्रम बराल जिताउ अभियान समितिका संयोजक नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रम सिडी विजय जिताउ अभियान समितिका संयोजक पदमराज ढकाल लगायतको उपस्थिति थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया