साउदी अरबमा ७० वर्षमा पहिलो पटक मदिरा पसल खुल्दै

३ महिना अगाडि

साउदी अरबमा सन् १९५२ मा मदिरा पिएर मातेका एक राजकुमारले एक विदेशी कूटनीतिज्ञलाई गोली हानी मारिदिएपछि देशभरि मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइयो।

राजा अब्दुलअजीजका एक छोराले ब्रिटिश कूटनीतिज्ञलाई मारिदिएलगत्तै त्यहाँ मदिरा प्रतिबन्धसम्बन्धी कानुन बनाइएको थियो।

तर अब साउदी अरबमा गैरमुस्लिम कूटनीतिज्ञहरूका निम्ति मदिरा बिक्री गर्ने अनुमति दिइन लागेको छ।

मदिरा कसले किन्न पाउँछन्
राजधानी रियादमा ७० वर्षपछि पहिलो पटक खुल्ने मदिरा पसलले चुनिएका गैरमुस्लिम विदेशीहरूलाई सेवा दिने छ।

यद्यपि सेवाग्राहीको वर्गमा सीमित कूटनीतिक कर्मचारीहरू मात्र पर्ने छन्।

वास्तवमा कूटनीतिज्ञहरूले वर्षौँदेखि उनीहरूले आयात गर्ने कूटनीतिक पार्सलमा मदिरा ल्याउने गरेका थिए।

साउदी रेस्टुराँमा अब महिला र पुरुष एउटै ढोकाबाट छिर्न पाउने
अब बिहे नगरेका जोडी साउदी होटलमा बस्न पाउने
तीमध्ये केही परिमाणको मदिरा कालोबजारी हुने गरेको सरकारी अधिकारीहरूले बताउने गरेका थिए।

मदिरा पसल खोल्ने कार्यले त्यस्तो अवैध काम बन्द हुने उनीहरू ठान्छन्।

नयाँ नियमअन्तर्गत कूटनीतिज्ञहरूले आयात गर्ने मदिरामा कडाइ गरिने बरु उनीहरूले रियादस्थित ुडिप्लोम्याटिक क्वार्टरुमा खुल्ने पसलबाट निश्चित कोटामा मदिरा किन्न सक्ने विवरण समाचारसंस्था एएफपी र रोयटर्सले प्रकाशित गरेका छन्।

एक सूत्रले रोयटर्सलाई बताएअनुसार पसल केही हप्ताभित्रै खुल्ने छ।

मदिरा किन्न पालना गर्नु पर्ने सर्त
तोकिएको पसलमा गएर मदिर किन्न केही सर्त पनि राखिएको छ।

इच्छुक कूटनीतिज्ञले पहिलै नाम दर्ता गराएर सरकारबाट अनुमति लिनुपर्ने छ
२१ वर्षमुनिका कसैलाई पनि पसलभित्र प्रवेश अनुमति हुने छैन। पसलभित्र रहँदा ‘उचित पोसाक’ लगाइरहनुपर्ने छ
मदिरा सेवनकर्ताले आफ्ना चालक वा अन्य व्यक्तिलाई मदिरा किन्न पठाउन पाउने छैनन्
मासिक सीमा निर्धारण र लागु गरिने छ
तर एएफपीले हेरेको दस्तावेजमा त्यस्तो सीमामा खासै कडाइ भने नगरिने देखिन्छ।

सूचीकृत ग्राहकले एक महिनामा अधिकतम २४० पोइन्ट मदिरा पाउने छन्।

एक लिटर स्पिरिटबराबर छ पोइन्ट हुन्छ भने एक लिटर वाइन बराबर तीन पोइन्ट र एक लिटर बिअरबराबर एक अङ्क हुन्छ।

कूटनीतिज्ञबाहेक अन्य विदेशीहरूका निम्ति मदिरा किन्ने सुविधा उपलब्ध हुने छैन।

साउदी अरबमा तोकिएका मानिसलाई मदिरा उपलब्ध भए पनि त्यसको प्रयोग र प्रयोगपछिका व्यवहारबारे भने सचेत हुनुपर्ने देखिन्छ।

साउदी कानुनअनुसार मदिरा साथमा राखेको वा उपयोग गरेको अपराधमा जरिवाना, जेल सजाय, सार्वजनिक रूपमा कोर्रा प्रहार वा देशनिकालासम्म हुन सक्छ।

मदिरा खुकुलो पार्ने पछिल्ला प्रयासलाई साउदी अरबका युवराज तथा वास्तविक शासक मोहम्मद बिन सलमानले अघि सारेका उदारीकरणसम्बन्धी भिजन २०३० अभियानकै एक पाटोका रूपमा हेरिएको छ।

खाडीका अन्य देशहरूमा पनि मदिरासम्बन्धी यस्तै नियम छ।

तर यूएई र कतारमा होटल, क्लब तथा बारहरूमा पनि २१ वर्ष माथिका गैरमुस्लिमहरूलाई मदिरा बेच्न पाइन्छ।

मदिरा नथपिदिएपछि हत्या
इस्लाममा मदिरा प्रतिबन्धित भए पनि सन् १९५२ सम्म साउदी अरबमा मदिराबारे कडा नियम थिएन।

तर सन् १९५१ मा मिशारी बिन अब्दुलअजीज अल(साउद नामक राजकुमारले जेद्दाह सहरस्थित ब्रिटिश उपमहावाणिज्यदूत सिरिल उस्मानलाई एक समारोहमा मदिरा नथपिदिएको आक्रोशमा गोली हानी मारिदिएका थिए।

त्यसको एक वर्षपछि राजा अब्दुलअजीजले मदिरामाथि पूर्ण प्रतिबन्ध लगाइदिए।

मिशारीलाई हत्यामा दोषी ठहर्‍याइएको थियो।
बिबिसीबाट
 

३ महिना अगाडि

प्रतिक्रिया