काठमाडौं । अहिले शेयर बजारको वर्तमान अवस्थालाई केलाउने हो भने सकरात्मक लयमा आएको मान् सकिन्छ । निराशालाई तोडेर आशाको दियो पलाएको मान्न सकिन्छ । निरन्तर रूपमा २ वर्ष भन्दा बढी समयसम्म शेयर बजारमा सोचे अनुरूपको कारोबार हुन नसकेकै कारण वा अर्थतन्त्र चलायमान नभएकै कारण आम लगानीकर्ता चिन्ताको चंगोलमा फसेका अवस्था थियो । तर यो लय कति दिर्घकालीन हुन सक्ला ? बजार पुरापुर लयमा आएको हो वा फेरि घट्छ ? शेयर बजारको आगामी यात्रा कस्तो रहला ? यस विषयमा नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष तथा शेयर बजार विश्लेषक छोटेलाल रौनियारलाई सोधेका छौ ।
प्रस्तुत छ रौनियारको विचार
बजार अहिले लयमा आएको छ । मुख्यता अहिले बजारको अवस्था हेर्दा सकारात्मक र प्रगतिशील मान्न सकिने अवस्थामा छ तर किन यस्तो अवस्था पहिले नै बन्न सकेन त भनेर हेर्न जरुरी छ ।
मुख्य गरी आम लगानीकर्ताहरूको मास साइकोलोजी नै कमजोर र नकारात्मक अवस्थामा गएको साचो हो यो सत्य हामीले स्विकार्नु पर्दछ । सेबोन, नेप्से, राष्ट्र बैंक तथा अर्थ मन्त्रालयले नै बजारका लागि सकारात्मक काम गर्नु भन्दा पनि नकारात्मक काम गरिदिँदा हामीले पछिल्लो २ वर्षमा जे जे भोगेर आयौ त्यो समस्याको कारण त्यहीँ नै थियो ।
पछिल्लो पुरापुर साढे २ वर्षसम्म अर्थतन्त्रको अवस्था डिप्रेशमा थियो , बजार ३२ सयको सीमा बाट १८ सयको विकराल अवस्थामा पुगेको थियो । ६,७ पटक त्यो अभ्यास भयो तर त्यहाँबाट बजार तल जानै मानेन त्यो भनेको १८ सय बटम लाइन थियो । त्यहाँबाट पटक पटक टेकअफ लिन खोजेको अवस्था भएपनी राम्रो समय नभएको कारण अर्थतन्त्रमा विचलन आएको थियो ।
बढ्दो ब्याजदर, तरलता चाप, राजनीतिक प्रभाव, नीतिगत प्रभावलगायतले नेपाली सेयर बजारमा प्रत्यक्ष रूपमा प्रभाव पारेको कारण शेयर बजारको स्थितिमा दिनानुदिन समस्याग्रस्त अवस्था आएको थियो । तर अहिले यी सबै कुरा सहजतामा परिणत भएको छ । बैंकहरुले ब्याजदर घटाएका छन् , मौद्रिक नीतिको समीक्षा पछाडि तरलतामा सुधार आएको छ , यी सबै सबै आधार हेर्दा मलाई लाग्छ बजारमा लगानी गर्ने यो नै प्रफेक्ट टाइम हो।
बैंकमा पर्याप्त पैसा भएको तर लगानीको वातावरण सृजना नभएको कारण लगानीकर्ता देखि लिएर बैंक बित्तिय संस्थासँग सम्बन्ध राखिने सबै व्यवसायको अवस्था चक्नाचुर भएको समयलाई हामीले देख्यौ, सामना गरेर अगाडि आयौ त्यो समयले धेरै व्यवसायी पलायन समेत भएका छन् । तर अब अर्थतन्त्र सुधारको बाटोमा आएको छ ।
बैंकमा लोन नलिएकै कारण अहिले बैंकहरुले व्याजदर घटेका छन् बैंकको ब्याजदर घट्दा सबैको निमित्त फाइदा पुग्छ र अर्थतन्त्र पनी चलायमान रहन्छ । महिनामा आउने रेमिटेन्समा वृद्धि भएको छ । विश्व बजारमा असाध्यै राम्रो इन्डेक्समा रहेको शेयर बजार नेपालमा भने दैनिक रूपमा ओरालो लाग्नु साँच्चिकै आश्चर्यजनक विषय बनेको थियो तर अब त्यो दिन हामीबाट पार लागेको छ ।
धागो देखि सियोसम्म निर्यात गर्नुपर्ने देशमा चर्को ब्याजदर हुँदा हाम्रो अर्थतन्त्र निसासिएको अवस्था थियो तर अहिले बजारमा बिस्तारै ठुला लगानीकर्ताले चासो बढाउन थालेको छन् । कारोबारको सङ्ख्यामा दैनिक वृद्धि भएको छ । समय बलमान छ । केही समय लगानीकर्ताले धैर्य गर्न सक्नुपर्छ बजारले साँच्चिकै एउटा सही बाटो प्रकिदै गएको मान्न सकिने हामीसँग धेरै आधार बनेको छ ।
लामो समयको निराशालाई चिरेर बजारले गति लिन थालेको छ अहिले इन्डेक्स ह्वात्तै बढ्नु र फेरी साताको अन्तिम दुुई कारोबार घट्नुलाई त्यति धेरै आत्तिनुपर्ने अवस्थाको रूपमा लिनु हुँदैन । किनकि यो थुनिएको खोलाको बहाव जस्तै अवस्थामा थियो अब यसले बिस्तारै गति लिन्छ उकालो यात्रामा लाग्छ सबैभन्दा ख्याल गर्नुपर्ने कुरा त बजार अब निरन्तर रूपमा सकारात्मक बाटोमा चलायमान हुन्छ ।
प्रतिक्रिया