इशानेश्वर धार्मिक एवं सास्कृतिक महोत्सव सुरु

१ महिना अगाडि

काठमाडौँ- लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–७ करापुटारमा इशानेश्वर धार्मिक एवं सास्कृतिक महोत्सव सुरु भएको छ । इशानेश्वर धार्मिक गन्तव्यको रुपमा थप प्रवद्र्धन गर्न महाशिवरात्रीको अवसर पारी महोत्सव आयोजना भएको हो ।

मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले महोत्सवको उद्घाटन गरेका हुन् । कार्यक्रममा नगरप्रमुख पाण्डेले मध्यनेपाल एक धार्मिक नगरी भएकोले इशानेश्वर महोत्सवलाई अझै व्यापक गर्नुपर्ने आवश्यकता रहेको बताए । पछिल्लो समय धर्म र सस्कृतिमाथि चौतर्फी आक्रमण भएको भन्दै यसका विरुद्ध सबै आस्था राख्ने व्यक्ति एकताबद्ध हुन जरुरी रहेको नगर प्रमुख पाण्डेको भनाइ थियो । इशानेश्वरको विकास गर्न सके करापु क्षेत्रको मात्रै नभई समग्र जिल्ला र देशको आर्थिक समृद्धिमा टेवा पुग्ने पाण्डेको दावी थियो । महोत्सव २९ गतेसम्म जारी रहने आयोजकले जनाएको छ । आगामी शुक्रबार पर्ने महाशिवरात्री पर्वलाई साविकका वर्षभन्दा थप व्यवस्थित बनाउन महोत्सव आयोजना गरीएको आयोजकले जनाएको छ ।

सांस्कृतिक महोत्सव स–शुल्क भएपनि महाशिवरात्रीको अवसरमा मन्दिरमा हुने नियमित कार्यका लागि अतिरिक्त शुल्क नलाग्ने आयोजकले जनाएको छ । सशुल्क महोत्सवमा भने राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीसँगै विभिन्न विधामा प्रतियोगिता, पर्यटन प्रवद्र्धनका गतिविधिी, व्यावसायिक स्टल राखिएको आयोजकले जनाएको छ । महाशिवरात्रीको बेला इशानेश्वर महादेव मन्दिरमा काठमाडौंको पशुपतिनाथ पछिको धेरै भक्तजनको घुइँचो लाग्ने पवित्र तीर्थस्थल मानिन्छ । मन्दिरमा शिवरात्रीको अघिल्लो मध्यराती मन्दिरमा विशेष पूजा गरेपछि बिहानैदेखि शिवमन्दिरमा दूध चढाउनेको भीड लाग्ने गर्दछ । अरूदिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि शिवरात्रीको दिन भने दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर आफैले शिवलिंगमा दूध चढाउने र पूजा गर्ने गर्दछन् ।

१ महिना अगाडि

प्रतिक्रिया