काठमाडौँ। यस साता सेयर बजार तीव्र उतारचढावका बीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ ।
यस साता सत्ता समीकरण र पुन गठनको प्रभाव पुँजी बजारमा देखिएसँगै बजारमा उतारचढाव आएको छ। साताको पहिलो कारोबारका दिन आइतबार कारोबारपछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार दुई हजार तीस दशमलव ५६ को बिन्दुमा पुगेको छ।
सोमबार मात्र नेप्से परिसूचक एक सय १७ दशमलव ७० अंकले बढेको छ । उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको बजारमा मङ्गलवार भने उच्च अङ्कको गिरावट देखिएको थियो । मङ्गलवार परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको थियो । बुधवार र बिहीबार दुवै दिन परिसूचक बढ्यो । नेप्सेका अनुसार परिसूचक बुधवार नौ दशमलव ३३ र बिहीबार १३ दशमलव ५१ अङ्कले बढेको थियो ।
त्यसै गरी, बुधवार तीन अर्ब ४२ करोड २४ लाख ८४ हजार रुपैयाँ बराबरको ८५ लाख २८ हजार दुई सय ५५ कित्ता र बिहीबार दुई अर्ब ५८ करोड ७३ लाख १६ हजार रुपैयाँ बराबरको ६३ लाख ७२ हजार चार सय ५२ कित्ता शेयर खरिद बिक्री भएको छ ।
नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेको सोमबार भने ३७ करोड ३७ लाख ५१ हजार रुपैयाँ बराबरको नौ लाख २० हजार तीन सय ९९ कित्ता शेयर मात्रै किनबेच भएको छ। मङ्गलवार चार अर्ब चार करोड ५२ लाख ८२ हजार सात सय ५४ रुपैयाँ बराबरको एक करोड चार लाख दुई हजार नौ सय ४० कित्ता शेयर कारोबार भएको छ ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा २ अर्ब ३२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता २ अर्ब ६४ करोडको शेयर कारोबार भएको छ। यस साताको दैनिक औषत कारोबार रकम, गत साताको तुलनामा १३.८७ प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ११.४६ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १०।९४ प्रतिशत घटेको छ।
त्यसै गरी यो साता पुँजी बजारमा १३ अर्ब २२ करोड १७ लाख १७ हजार रुपैयाँ बराबरको तीन करोड ६० लाख ४४ हजार ३१ कित्ता शेयर कारोबार भएको छ । आइतबार दुई अर्ब पाँच करोड ८५ लाख ९४ हजार रुपैयाँ बराबरको ५२ लाख ३८ हजार छ सय ९६ कित्ता शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया