मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियमबाट पेट्रोल ल्याउने काममा ढिलासुस्ती

१ महिना अगाडि

काठमाडौँ  -  मोतिहारी\अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल ल्याउन अझै ३ महिना भन्दा बढी कुर्नुपर्ने देखिएको  छ । आगामी ३ साताभित्र सम्पन्न गर्नुपर्ने पाइप लाइन परियोजनाको काममा ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा निर्धारित समयमा नसकिने भएको हो ।

 

नेपाल आयल निगम अम्लेखगञ्ज डिपो प्रमुख विनितमणि उपाध्यायले यही गतिमा काम गर्दा पनि ठेकेदार कम्पनीलाई अझै ३ महिना लाग्ने बताएका छन् । ठेकेदार कम्पनीले दैनिक बिहान ८ बजेदेखि राति ८ बजेसम्म काम गर्दै आएको छ । ‘अहिलेकै गतिमा काम गर्दा पनि तोकिएको समयमा सम्पन्न गर्न कुनै हालतमा सम्भव छैन,’ निगमका अम्लेखगञ्ज डिपो प्रमुख उपाध्यायले भने, ‘औपचारिक रुपमा त भन्न मिल्दैन तर अझै कम्तीमा २ देखि ३ महिना समय लाग्ने देखिन्छ ।’ मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइनको दोस्रो चरणको काम यही मार्चभित्र सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर हालसम्म ६५ देखि ७० प्रतिशत मात्रै काम सम्पन्न भएको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन सँगको सम्झौता अनुसार पाइप लाइनको दोस्रो चरणको सम्पूर्ण काम लिखिता इन्फ्रास्ट्रक्चरले गरिरहेको छ ।  निगमको अम्लेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ भण्डारणका लागि ४ वटा ट्याङ्की र २ वटा फायर वाटर ट्याङ्की निर्माणको काम भइरहेको छ । पाइप लाइनको दोस्रो चरणको पूर्वाधार निर्माणको क्रममा २ अर्ब १४ करोड भारतीय रुपैयाँ लगानी हुने निगमले जनाएको छ । जस मध्ये  ६० करोड भारतीय रुपैयाँ भारतीय आयल कर्पोरेसनको र १ अर्ब ५४ करोड भारतीय रुपैयाँ नेपाल आयल निगमको लगानी छ । निगमका अम्लेखगञ्ज डिपो प्रमुख उपाध्यायले पेट्रोलियम ट्याङ्की वेल्डिङ्गको काम सकिएर चुहावट चेकजाँचको काम भइरहेको बताएका छन् ।‘मुख्य रुपमा पेट्रोलियम ट्याङ्कीको भित्र, बाहिर फिनसिङ्ग, रङरोगन, पाइप बिछ्याउने काम बाँकी छ,’ उपाध्यायले भने, ‘समयमै काम सक्नुपर्छ भनेर म एकदमै लागेको छु तर, यसमा मेकानिकल, सिभिल, इलेक्ट्रोनिक कामको समिश्रण भएकाले समय लागेको हो ।’

 

जति नै दौडधुप गरे पनि अबको १८ दिनभित्र पाइप लाइन परियोजनाको काम सक्ने अवस्था नदेखिएकाले भारतीय आयल कर्पोरेसनसँग छलफल गरेर निगमको सञ्चालक समितिको प्रस्तावमा माथिल्लो तहबाटै कारण  सहित म्याद थपको प्रकियामा जानुपर्ने उपाध्यायको भनाइ छ । मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको पहिलो परियोजना अन्तर्गत २०७६ भदौ देखि पाइप लाइनबाट डिजेल आयात सुरु भएको थियो । दोस्रो चरणको काम भने सन् २०२२ को डिसेम्बरदेखि सुरु भएको हो । पाइप लाइनको दोस्रो चरणको परियोजना अन्तर्गत ४ वटा पेट्रोल  ट्याङ्की निर्माण कार्य अन्तिम चरणमा छ । जसमा २ वटा भारतीय आयल कर्पोरेसनले र २ वटा नेपाल आयल निगमले निर्माण गरेको हो । आईओसीले ४१–४१ लाख लिटरको क्षमता भएको २ वटा पेट्रोलको ट्याङ्की निर्माण गरेको छ भने नेपाल आयल निगमले ५०–५० लाख लिटरको २ वटा ट्याङ्की निर्माण गरेको छ ।  ६ वटा ट्याङ्की मध्ये साना २ वटा २५० लाख किलोलिटरको ट्रान्समिक्स ट्याङ्की (एउटै पाइपबाट पेट्रोल र डिजेल आउँदा मिक्स भएको पेट्रोलियम पदार्थलाई राख्न बनाइएको ट्याङ्की), पीएमसीसी भवन (विद्युतीय प्रवाह गर्ने रुम), ट्याङ्करहरूलाई चेकिङ गर्न गार्ड हाउस, कन्ट्रोल रुम, एकैपटक ८ वटा ठाउँबाट पेट्रोल ट्याङ्कीमा तेल भर्न ‘बे हाउस’ निर्माणको काम तीव्र गतिमा भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले पेट्रोलियम पाइप लाइन परियोजनाको दोस्रो चरणको काममा म्याद थप नगर्ने बताएका छन् । भारतीय आयल कर्पोरेसनको टिमलाई आफूले दिनरात काम गरेर समयमै हस्तान्तरण गर्न निर्देशन दिएको बताएका छन् ।‘कार्यतालिका अनुसार म्याद थप नगर्ने गरी समयमै काम सक्न निर्देशन दिइ सकेको छु, म अहिलेसम्म फिल्डमा पुगेको त छैन तर, एक र दुई दिनमा स्थलगत रुपमा हेर्छु,’ उनले भने, ‘काम जे जति बाँकी भए पनि हामी म्याद थप गर्न सक्दैनौँ ।’भट्टलाई सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा ३ साताअघि नियुक्त गरेको हो । निगमको प्रमुख पदमा नियुक्ति पाएको ३ साता बितिसक्दा भट्टले मोतिहारी–अम्लेखगञ्ज पाइप लाइन परियोजनाको स्थलगत रुपमा अनुगमन गर्न भने भ्याएका छैनन् । 
 

१ महिना अगाडि

प्रतिक्रिया