काठमाडौं — नयाँ सत्ता समिकरण पछि बनेको सरकारले नागरिकमा केही आशा पलाउन थालेको छ । आज एका बिहानै माओवादी नेता तथा पूर्व सभामुख महरा पक्राउ परेपछि राजनीतिक संरक्षणमा कालो धन्दा गर्नेहरुको दशा सुरु भएको छ । गृहमन्त्री रबि लामिछानेले सुन तस्करीमा संलग्न गिरोहमाथि कारबाहीको डण्डा बर्साउन सुरु गरेपछि सहकारी ठगीमा संलग्न गिरोह पनि कारबाहीको दायरामा आउनेमा पीडितहरु आशावादी बनेका छन् । प्रधानमन्त्री पोखरा गएको साइत पारेर सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका छन् । सूर्यदर्शनबाट ३० करोड, चितवन सहाराबाट ११ करोड ७१ लाख र बुटवलको सुप्रिमबाट १० करोड ७४ लाख गोर्खा मिडिया नेटवर्कमा बिनाधितो, बिनाप्रक्रिया र गैरकानुनी रूपमा सारिएको विषयमा गम्भीर अनुसन्धान नभएको भन्दै पीडितहरूले गुनासो गरेका छन् ।
पीडितहरुले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न र जीबी राईलाई पक्राउ गर्न माग गर्दै आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ज्ञापनपत्र बुझाएका छन् । सरकारले सहकारी पीडितहरुको माग पनि सम्बोधन गर्नै पर्दछ । बालकृष्ण खाँड, टोप बहादुर रायमाझी र कृष्ण बहादुर महरा पक्राउ पर्न सक्छन् भने आजका मन्त्रीहरु पनि आफूले गरेका कर्म अनुसारको सजाय भोग्न तयार हुनु पर्दछ । लोकतन्त्र र कानुनको शासनलाई सम्मान गर्ने जो कोही पनि कानुनको दायरामा आउनै पर्दछ ।
पोखरामा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सहकारीपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘गितेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गर्न र गृहमन्त्री लामिछानेलाई पनि छानबिन गर्न अनुरोध गरेका छौं । प्रधानमन्त्रीले यसमा कस्तो कदम चाल्ने हुन ? एउटा अपराधमा कारबाही गर्दा अर्को खालको अपराधमा आँखा चिम्लने काम पक्कै पनि हुने छैन भन्ने विश्वास गरिरहेका नागरिकलाई सरकारले अवश्य पनि निराश बनाउने छैन । एक सहकारी पीडितले आजको अर्थसित आफ्नो आक्रोश पोख्दै भने, ‘ महरालाई कारबाही हुने, सहकारी ठगीको आरोपति रवि लामछिानेलाई किन कारबाही नहुने ? ’
प्रतिक्रिया