काठमाडौँ - म्याग्दीमा दुई वर्ष समय खर्चिएर लगत संकलन गरेको राष्ट्रिय भूमि आयोग म्याग्दीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
समितिले हालसम्म एक नगरपालिका र पाँच गाउँपालिकामा आठ सय ६५ जनाको निवेदन संकलन गरेको छ । बेनी नगरपालिकामा सबैभन्दा धेरै तीन सय चार जनाले निवेदन दिएको समितिका सदस्य सचिव तुलसीप्रसाद पौडेलले जानकारी दिए । साथै अन्नपूर्ण गाउँपालिकामा एक सय ३४, मङ्गला गाउँपालिकामा एक सय १५, धौलागिरि गाउँपालिकामा ६३ र रघुगङ्गा गाउँपालिकामा ३३ जनाले जग्गा प्राप्तिका लागि निवेदन दिएको आयोगको भनाइ छ । जिल्लामा हालसम्म तथ्याङ्क सङ्कलनमै धेरै समय बितेको र स्थानीयतहलाई आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरिएको आयोगका जिल्ला अध्यक्ष देवेन्द्र कामीले बताए । “अहिलेसम्म एउटा पनि निस्सा वितरण हुनसकेको छैन, पालिकाहरुले गर्ने प्रक्रिया पूरा गरेपछि हामी थप काम अघि बढाउछौँ”, उनले भने ।
जिल्लामा विसं २०४८ मा आयोग गठन भएपनि सुकुम्बासीको समस्या हालसम्म समाधान भएको छैन । नेपाल सरकारले गठन गरेका आयोग, समिति र कार्यदलबाट जग्गाको स्वामित्व दर्ता श्रेस्ता दिने सूचनाअनुसार दुई सय ४१ निवेदन प्राप्त भएका छन् । त्यसमध्ये बेनी नगरपालिकामा ६४ र अन्नपूर्ण गाउँपालिकामा एक सय ७७ निवेदन परेका छन् । स्थानीयतहले सार्वजनिक सूचना जारी गरी सङ्कलन गरेको निवदेनलाई राष्ट्रिय भूमि आयोगको प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको छ । अन्नपूर्ण र मङ्गला गाउँपालिकाले पहिलो चरणको काम सकेर निवेदकको विवरणमा दाबी विरोधको प्रक्रिया अगाडि बढाएको छ भने अन्य पालिकामा प्राप्त कतिपय निवेदनमा कागजात नपुगेकाले काम अघि बढेको छैन । स्थानीय तहले जति छिटो प्रक्रिया अघि बढाउँछन, त्यति छिटो काम टुङ्गोमा पुर्याउन सकिन्छ ।”
प्रतिक्रिया