काठमाडौँ - कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०\८१ को आठ महिनामा २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ । सोही अवधिमा १२ करोड २१ लाखको मकै, पाँच करोड ९४ लाखको चामल र रु एक करोड ९२ लाखको तोरीको दाना आयात भएको छ ।
यस्तै चालु आ.वको सोही अवधिमा रु आठ करोड ४९ लाखको अङ्गुर, रु चार करोड ४९ लाखको अनार, रु दुई करोड ३० लाखको अम्बा, आँपलगायतका फलफूल, रु दुई करोड ११ लाखको सुन्तला, रु ८७ लाख २९ हजारको स्याउ तथा रु ८४ लाख ७१ हजारको केरा आयात गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए। कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार चालु आ.वको आठ महिनामा आठ करोड ७१ लाखको तरकारी, १६ लाख ५० हजारको मटर, रु १४ लाख ८६ हजारको फर्सी, लौका लगायतको तरकारी, रु सात लाख ३३ हजारको प्याज, रु पाँच लाख २९ हजारको काँक्रा, रु सात लाख ४१ हजारको कागती र रु ६ लाख ७९ हजारको अन्य तरकारी आयात गरिएको छ ।कैलाली भन्सार कार्यालयले चालु आवको आठ महिनामा लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन् । चालु आ.वको फागुन मसान्तसम्म रु सात अर्ब ५६ करोड १६ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु पाँच अर्ब १३ करोड दुई लाख मात्रै संकलन भएको सूचना अधिकारी खड्काले जानकारी दिए।
चालु आ.वको साउनमा रु ७२ करोड ३५ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु ४६ करोड ८२ लाख, भदौमा रु ८८ करोड ४० लाख लक्ष्य रहेकामा रु ५१ करोड ९३ लाख, असोजमा रु ९७ करोड ८१ लाख लक्ष्य रहेकामा ६३ करोड १४ लाख तथा कात्तिकमा रु ९७ करोड ५२ लाख लक्ष्य रहेकामा रु ६१ करोड ४६ लाखमात्रै राजस्व संकलन भएको उनले बताए। चालु आवमा कैलाली भन्सार कार्यालयको रु ११ अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको लक्ष्य छ । चालु आवको आठ महिनामा रु पाँच अर्ब १३ करोड दुई लाख मात्र राजस्व असुली भएको छ । जुन वार्षिक लक्ष्यको ४३ दशमलव २८ प्रतिशत हो । आर्थिक वर्ष २०७९\८० मा रु १२ अर्ब ३० करोड ६६ लाख लक्ष्य रहेकामा आठ अर्ब २९ करोड ६३ लाख मात्र राजस्व असुली भएको कार्यालयले जनाएको छ । यो लक्ष्यको ६७.४१ प्रतिशत मात्र हो । यस्तै मङ्सिरमा रु एक अर्ब दुई करोड २५ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु ७३ करोड ३४ लाख, पुसमा एक अर्ब चार करोड १३ लाख लक्ष्य रहेकामा रु ६८ करोड ९० लाख, माघमा रु ९२ करोड ६९ लाख लक्ष्य रहेकामा रु ६६ करोड ६७ लाख तथा फागुनमा रु एक अर्ब ९८ लाख लक्ष्य रहेकामा रु ६९ करोड एक लाख मात्र राजस्व असुली भएको सूचना अधिकारी खड्काले जानकारी दिए ।
प्रतिक्रिया