भन्सार छलीका सामान बरामद

१ महिना अगाडि

काठमाडौँ - प्रहरीले वीरगन्जबाट ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ ।

पर्सा प्रहरीले वीरगन्जका विभिन्न ठाउँबाट विलविजक भन्दा बढी लोड गरिएका सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भन्सार छलीका सामानसहित ५ वटा ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले बताए ।  नियन्त्रणमा लिएका ट्रकसहित सबै सामान करिब ६७ लाख ६१ हजार ५ सय ९४ रुपैयाँ मूल्य बराबरको रहेको ढुङ्गेलले बताए । लत्ताकपडा, खुद्रा सामान, प्याज, खाद्यान्न तथा हार्डवेयर पार्टस बरामद भएको पर्सा प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रहरीको भन्सार छली रोकथाम विशेष टोलीले वीरगन्जको घण्टाघरबाट ना ३ ख ७६५६ र प्रदेश ३-०३-००१ ख ००९८ नम्बरको मालवाहक गाडीबाट खाद्यान्न खुद्रा सामान बरामद गरेको छ भने ड्राइपोर्ट एरियामा बीआर ५ जी ९९९२ पिकअप गाडीबाट कुर्ता सुरुवाल बरामद गरेको छ ।

यसैगरी गण्डकमा ना ३ ख ३७४ र ना ३ ख ४८७७ नम्बरको मालवाहक ट्रक बरामद गरिएको छ । ती ट्रकबाट खाद्यान्न तथा खुद्रा सामानहरू बरामद भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै रजत जयन्ती चोकबाट हार्डवेयर मोटर पार्टस र रेल्वे रोडबाट चक्लेटहरु बरामद गरिएको ढुङ्गेलले बताए ।  बरामद सबै सामान तथा मालवाहक गाडीहरू आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पथलैया बुझाइएको प्रहरीले जनाएको छ । 

 

१ महिना अगाडि

प्रतिक्रिया