गुल्मीमै रोकियो जहाज

१ महिना अगाडि

काटमाडौँ  - खराब मौसमका कारण नेपाल एयरलाइन्सको ट्विनअटर जहाज गुल्मीको रेसुङ्‍गा विमानस्थलमै रोकिएको छ ।

बुधबार रेसुङ्‍गाबाट काठमाडौंका लागि उडेको जहाज प्रतिकूल मौसमका कारण रेसुङ्‍गामै फर्काएर अवतरण गरेको हो । बुधबार बिहान काठमाडौं–रेसुङ्‍गा सफल उडान भरेको उक्त जहाज रेसुङ्‍गा-काठमाडौं उडानको क्रममा मौसम खराबीले बीच बाटै फर्किएर रेसुङ्‍गामै रोकिएको नेपाल एयरलाइन्स रेसुङ्‍गाका सम्पर्क अधिकृत सुमनजंग थापाले जानकारी दिए । बुधबार मौसम खराबीले रोकिएको उक्त जहाज पुनः रेसुङ्‍गाबाट उडान भर्नुपूर्व जहाजको चेकजाँच गर्नु पर्ने हुन्छ । तर, गुल्मीमा जहाज चेकजाँच गर्ने इन्जिनियर नहुँदा काठमाडौंबाट बोलाइएको उनले बताए । इन्जिनियरले अनुमति दिएपछि जहाज उड्ने उनको भनाइ छ ।

यात्रुको अत्यधिक चापका कारण रेसुङ्‍गा विमानस्थलबाट यसै साताबाट साताको तीन उडान हुँदै आएको छ । रेसुङ्‍गा नगरपालिकाको पहलमा यस विमानस्थलबाट सोमबार, बुधबार र शुक्रबार उडान भइरहेको छ । अब यो जहाज शुक्रबारमात्र उड्ने तयारी रहेको बताइएको छ । हवाई यात्रामा गुल्मी जोडिएसँगै पछिल्लो समय जिल्लाका पर्यटकीय स्थलमा अन्तर्राष्ट्रिय पर्यटक भित्रिन थालेका छन् । गुल्मीको ऐतिहासिक, धार्मीक तथा पर्यटकीय स्थल रेसुङ्‍गा, धुर्कोटको विचित्र गुफा, चन्द्रकोटको टिमुरे ताल र मालिकाको मालिका पिस पार्कमा पर्यटक घुम्न जान थालेका हुन् । गुल्मीमा हाल फ्रान्स, बेल्जियस र स्पेनबाट पर्यटकहरु घुम्नका लागि आइरहेका छन् ।

१ महिना अगाडि

प्रतिक्रिया