उच्च रक्तचाप र मधुमेहका बिरामीलाई रु पाँच हजार नगद सहयोग

१ महिना अगाडि

काठमाडौं- टोखा नगरपालिकाले क्षेत्रका उच्च रक्तचाप र मधुमेहका बिरामीलाई रु पाँच हजार नगद सहयोग गर्ने घोषणा गरेको छ । नगरपालिकाले सोमबार सूचना निकालेर टोखा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने ५० वर्षभन्दा माथिका नागरिकमध्ये विपन्न, एकल महिला, जनआन्दोलनका घाइते, दलित, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सीमान्तकृत र लोपोन्मुख वर्गका बिरामीलाई आर्थिक सहयोग गर्ने जनाएको हो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले उच्च रक्तचाप र मधुमेहका बिरामीलाई जनही रु पाँच हजार नगद सहयोग गर्न लागिएको जानकारी दिए । औषधि सेवन गरेका बिरामीले नागरिकता, टोखा नगरपालिकाको स्थायी बासिन्दा भएको खुल्ने कागजात, चिकित्सकको ‘प्रेस्किप्सन’, औषधि खरिद गरेको बिल पेस गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत बिसीले बताए ।

टोखा नगरपालिकाले ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम पनि सुरु गरेको छ । नगरभित्रका ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने उद्देश्यले उक्त कार्यक्रम थालिएको प्रमुख प्रशासकीय अधिकृत बिसीले बताए ।  

१ महिना अगाडि

प्रतिक्रिया