बीआरआई कार्यान्वयनमा चीनको चासो

१ महिना अगाडि

काठमाडौं – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणमा चिनियाँ पक्षले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई))कार्यान्वयनबारे नेपालको तत्परताको सम्बन्धमा चासो प्रकट राखेको छ । बीरआरआई कार्यान्वयनलाई लिएर नेपालमा हुने गरेका बहसप्रति पनि चिनियाँ पक्षको चासो रहेको छ । ९ दिने चीन भ्रमणमा रहेका श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बुधबार बेइजिङमा भेटवार्ता भएको छ । त्यसअगाडि श्रेष्ठले अन्य चिनियाँ नेताहरुसँग समेत भेटवार्ता गरेका थिए ।
 
चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटवार्तामा दुवै नेताले दुईपक्षीय सम्बन्धको अवस्था मूल्यांकन गर्दै थप उचाइमा पुर्‍याउन मिलेर काम गर्ने प्रतिबद्धता जनाएका पनि छन् । चिनिया लगानीमा नेपालमा संचालित विकास आयोजनाहरुको छिटो कार्यान्वयनमा पनि दुवै पक्षले जोड दिएका छन् ।  

उक्त भेटमा वाङले गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा राष्ट्रपति सीसँग भएको भेटमा द्विपक्षीय सम्बन्धको विकासका लागि महत्वपूर्ण सहमति भएको उल्लेख गर्दै त्यसको सशक्त कार्यान्वयन र बीआरआई सहयोग प्रवद्र्धन र नागरिकस्तरको सम्पर्कमा वृद्धि गर्नमा जोड दिएका छन् । 

सो अवसरमा, परराष्ट्रमन्त्री श्रेष्ठले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण तथा चिनियाँ विमान खरिद गर्दाको ऋण मिनाहाका लागि कूटनीतिक पहल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

 चीनस्थित नेपाली दूतावासले आयोजना गरेको पूर्वलगानी सेमिनारलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आउँदो महिना नेपालमा लगानी सम्मेलन हुने भन्दै सहभागिताका लागि आग्रह गरे । नेपाल चिनियाँ लगानीकर्ताका लागि उत्कृष्ट गन्तव्य हुने दाबी गर्दै उनले सरकारले आवश्यक सुविधा दिन तयार रहेको बताएका छन् । 

९ दिने भ्रमणका क्रममा मन्त्री श्रेष्ठले अन्य चिनिया नेताहरुसँग समेत भेटवार्ता गर्नेछन् । उनी छोङछिङ, तिब्बत र सिचुआन प्रान्त जाने कार्यक्रम पनि छ ।

 

१ महिना अगाडि

प्रतिक्रिया