ललितपुरमा अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन हुँदै

१ महिना अगाडि


काठमाडौँ - पाटन संयुक्त क्याम्पसले यही वैशाख १५ र १६गते पहिलो ‘अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन’ आयोजना गर्ने भएको छ ।

 ललितपुरमा २ दिनसम्म चल्ने अर्थशास्त्र सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, सिंगापुर र मलेसियाबाट प्राज्ञिक तथा अर्थविद्हरूको व्यक्तित्वको सहभागिता रहने छ ।सम्मेलनले विकासका नयाँ मुद्दामाथि गहन छलफलमार्फत ज्ञान आर्जनमा टेवा पुग्ने तथा नीति निर्माणमा स्पष्टता र दूरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको क्याम्पसका  अर्थशास्त्र विभागका प्रमुख रघुवीर विष्टले बताए । उनका अनुसार सम्मेलनले विकासको एजेन्डालाई नव सिर्जित मुद्दासँग अङ्गीकार गर्दै अर्थतन्त्र विस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको खोजी सम्मेलनले गर्ने छ ।

संयुक्त राष्ट्र खाद्य एवम् कृषि सङ्गठनको प्रमुख सहकार्यमा आयोजना हुने सम्मेलनलाई विश्वविद्यालय अनुदान आयोग, नबिल बैंक, सानिमा बैंक तथा राष्ट्रिय वाणिज्य बैंकले प्रायोजन गरेका छन् । सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौँ, पोखरा र सुदूरपश्चिम विश्वविद्यालय र उल्लेखित विश्वविद्यालयका विभिन्न आङ्गिक÷सम्बन्धन क्याम्पस तथा विभागको प्रत्यक्ष संलग्नता रहनेछ । सम्मेलनका लागि कुल ३८ रिसर्च पेपर छनोट भएका छन् जो दुई दिन चल्ने ११ प्राविधिक सत्रमा प्रस्तुत हुनेछन् । सम्मेलनमा २ विज्ञ वक्ताबाट ‘किनोट लेक्चर’ र ५ विज्ञ सम्मिलित १ प्यानल छलफलमार्फत सहभागीले ज्ञान आर्जन गर्न सक्नेछन् । सम्मेलनमा कुल १५० जनाको सहभागिता रहनेछ ।

१ महिना अगाडि

प्रतिक्रिया