धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि काम बन्द

१ महिना अगाडि


काठमाडौं - धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि धितोपत्र बजारमा नयाँ आईपीओ र एफपीओ निष्कासन अनुमतिको काम  ठप्प छ ।

 धितोपत्र बोर्डको अध्यक्ष नहुँदा प्राथमिक निष्कासन, थप प्राथमिक निष्कासन, ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति प्रक्रिया रोकिएको छ । अनुमतिका लागि चार दर्जन संस्थाले आवेदन दिएका छन् । अध्यक्ष चयन नभएका कारण नीतिगत निर्णय र अन्य काम रोकिएका छन् । धितोपत्र निष्कासन अनुमति नपाउँदा कम्पनीहरूले पूर्व निर्धारित समयमा शेयर निष्कासन गर्न पाएका छैनन् । शेयर निष्कासन अनुमति रोकिएपछि हालसम्म बोर्डमा शेयर निस्कासनका लागि आवेदन दिएका कम्पनीको कारोबार नै प्रभावित भएको छ । शेयर निष्कासन अनुमति नपाउँदा विभिन्न व्यवसाय तथा आयोजनामा आवश्यक पुँजी जुटाउन समस्या भएको छ । 


बोर्डको अध्यक्षका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनुपर्नेछ । छनोट समितिले अध्यक्ष छनोटका लागि मूल्यांकन आधार पनि तयार गरेको छ । यस अनुसार व्यावसायिक कार्य योजनामा ४० अंक, शैक्षिक योग्यतामा ४० अंक, व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणमा १८ अंक र अन्तर्वार्तामा ३० अंक छुट्याइएको छ । पुस २० मा अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएको थियो । उनी जाँदा जाँदै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकरणको विवादमा विवादित भएर निस्किएका थिए । त्यसयता बोर्ड कसलाई अध्यक्ष बनाउने भन्ने प्रक्रिया सकिएको छैन । धितोपत्र बोर्डको अध्यक्ष बन्न १९ जनाले आवेदन दिएका छन् । तर, छनोट प्रक्रियापछि सरकारले नयाँ अध्यक्ष नियुक्त गरेको छैन । 

धितोपत्र ऐनको व्यवस्थाअनुसार सरकारले अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिले अध्यक्षका लागि आवेदन संकलन पनि गरिसकेको छ । आवेदन दिने अन्तिम म्याद फागुन ३० सम्म थियो । यसमा १९ जनाले आवेदन दिएको समितिले जनाएको छ । म्याद सकिएको लामो समय भइसक्दा पनि सर्टलिष्ट बनेको छैन ।  सर्टलिष्टमा नाम छान्नु भन्दा पहिले नै राजनीति सुरु भएको छ । बोर्ड अध्यक्षका लागि सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, विमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल चिरञ्जीवी चापागाईं, कृष्णराज पोखरेल, सन्तोषनारायण श्रेष्ठ, नवराज अधिकारी, गोपालप्रसाद भट्टले निवेदन दिएका छन् । यस्तै निरज गिरी, केशवप्रसाद श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठ, प्रवीन पन्दाक, र कृष्णबहादुर कार्कीको आवेदन परेको छ । प्राप्त आवेदनमध्ये सिफारिस समितिले पहिलो चरणमा ५ जना छान्ने र दोस्रो चरणमा ३ जना छानेर नियुक्तिका लागि सरकारलाई सिफारिस गर्नुपर्छ । त्यसपछि मात्र मन्त्रिपरिषदले तीनमध्ये एक जनालाई अध्यक्षमा नियुक्त गर्छ ।


 
 

१ महिना अगाडि

प्रतिक्रिया