मौसमले हवाई उडान प्रभावित

४ हप्ता अगाडि

काठमाडौँ -  प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको छ ।

 विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए ।उनका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने होल्ड भएका छन् । अहिले पनि सिचुवना एयरलाइन्सको जहाज होल्डमा रहेको छ । “प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ । एक घण्टा अगाडि एक हजार छ सय मिटरमात्रै भिजिबिलिटी रहेकामा अहिले दुई हजार पाँच सय रहेको छ ।

“होल्डमा रहेका अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण हुन थालेका छन्”, प्रवक्ता झाले भने । आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छैन । तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका  छन् ।


 

४ हप्ता अगाडि

प्रतिक्रिया