लगानी प्रवर्द्धनमा भूमिका खेल्न सञ्चार मन्त्रीको आग्रह

४ हप्ता अगाडि

काठमाडौं –  नेपालमा अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्रवर्द्धनका लागि भूमिका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेनिजी क्षेत्रलाई आग्रह गरेकी छिन् ।
नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआइसिसीआई) द्वारा
शुक्रबार आयोजित १०औँ वार्षिक साधारणसभामा सञ्चारमन्त्री शर्माले नेपालमा उत्पादित वस्तुलाई विश्व बजारमा कसरी पुर्‍याउन सकिन्छ र बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याएर अर्थतन्त्रलाई योगदान दिन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रले काम गर्नुपर्ने बताइन् । साथै विभिन्न मुलुकसँगको द्विपक्षीय व्यापार प्रवर्द्धन र लगानी वृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने मन्त्री शर्माको भनाइ छ ।

२०७२ को विनासकारी भूकम्पपछिको पुनःनिर्माणमा इटालीले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै सञ्चारमन्त्री शर्माले नेपालमा बढी पर्यटक पठाउने मुलुकमा इटाली पनि अग्रस्थानमा रहेको बताइन् । इटालीका लगानीकर्तालाई नेपालमा थप लगानी बढाउन पनि उनले आग्रह गरिन् । आगामी वैशाखमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा इटालीबाट उल्लेख्य लगानीकर्ताको सहभागिता रहने नेपालले अपेक्षा गरेको उनले बताइन । ।

सोही कार्यक्रममा नेपाल इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवालले दुई देशबीचको आर्थिक तथा व्यापारिक साझेदारीलाई थप बढाउन निजी क्षेत्रले भूमिका खेल्ने बताए । त्यसैगरी इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डेयले दुई देशको व्यापार र लगानी साझेदारीका लागि थप पहलको आवश्यकता औँल्याइन् ।

४ हप्ता अगाडि

प्रतिक्रिया