विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग अर्थमन्त्री पुनको भर्चुअल बैठक

४ हप्ता अगाडि

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गरेका छन् ।  आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरुप मन्त्री पुनले राजदूतहरूसँग छलफल गरेका हुन् । 

जुम बैठकका लागि मन्त्री पुन शुक्रबार साँझ अबेर परराष्ट्र मन्त्रालय गएका थिए ।  बैठकमा मुख्यसचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिव सेवा लम्साल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्टलगायत सहभागी थिए । मन्त्री पुनले राजदूत र नियोग प्रमुखहरूलाई अबको एक महिना लगानी सम्मेलन केन्द्रित भएर काम गर्न प्रधानमन्त्रीका तर्फबाट निर्देशन दिए ।

‘लगानी सम्मेलन राष्ट्रको इज्जत, प्रतिष्ठा, गौरवको विषयसँग जोडिएको छ’, पुनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूकै तर्फबाट म यहाँहरुलाई आग्रह गर्छु कि अबको एक महिना सबै काम छाडेर यसैमा लाग्नुस् ।’ मन्त्री पुनले विदेशी विकास साझेदार, ठुला लगानीकर्ता, सम्भावित लगानीकर्ता, कार्यक्रमका वक्ता र उच्च पदस्थ सरकारी व्यक्तित्वहरूलाई यसअघि नै निम्ता पठाइसकिएको स्मरण गर्दै सम्मेलनमा आउन निश्चित भएकाहरूको सूची तयार पारेर पठाउन पनि भने ।  लगानीमैत्री वातावरण बनाउन सरकारले नीतिगत, प्रक्रियागत र कानुनी सुधारको काम अघि बढाएको उनले बताए । त्यसका लागि एक दर्जन बढी कानुनमा संशोधनमार्फत सुधारको प्रक्रिया अघि बढाइएको विषयमा आफू रहेको देशका लगानीकर्ता र सरकारी एजेन्सीहरूलाई जानकारी गराउन पनि मन्त्री पुनले आग्रह गरे । ‘१२ वटा कानुन र कतिपय द्विपक्षीय समझदारीहरू गर्ने कुरामा पनि छलफल चलिरहेको छ । लगानीमैत्री कानुन बनाउन भइहरेका प्रयासबारे लगानीकर्ता र सरकारी एजेन्सीहरूलाई भन्नुस्’, उनले भने ।

यस्तै मन्त्री पुनले सरकारको मुल नेतृत्व उही रहेको र एकाध मन्त्रीहरू मात्र फेरिएकाले लगानी सम्मेलन र लगानीसम्बन्धी नीतिमा कुनै फेरबदल नभएको विषयमा समेत अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त तुल्याउन प्रयास गर्नुपर्ने बताए । मन्त्री पुनले गैर आवासीय नेपालीले आर्जन गरेका ज्ञान, सिप र प्रविधिलाई मातृभूमिमा प्रयोग गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिँदै सो समुदायमा यो सन्देश प्रवाह गर्न राजदूतहरू र नियोग प्रमुखहरूलाई अनुरोध गरे ।  भारत, चीन, कोरिया र खाडीसहित विभिन्न मुलुकहरूमा भइरहेका पूर्व तयारीका कामलाई थप तीव्रता दिन मन्त्री पुनले निर्देशन दिए । बैठकमा संयुक्त राज्य बेलायत, अस्ट्रेलिया, जर्मनी, बङ्गलादेश, भारत, ओमान, दक्षिण कोरिया र मलेसियाका राजदूत तथा नियोग प्रमुख सहभागी थिए ।
 

४ हप्ता अगाडि

प्रतिक्रिया