शैक्षिक सत्र सुरु हुनु अगावै रामेछापमा पुग्यो पाठ्यपुस्तक

१ महिना अगाडि

काठमाडौँ । सरकारले यस वर्षको शैक्षिक सत्र सुरु हुनु अगावै सबै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने उद्घोष गरेसँगै रामेछापमा पनि शैक्षिक सत्र सुरु हुनु अगावै सबै कक्षाको पाठ्यपुस्तक पुगेको छ ।

विगतका वर्षहरूमा शैक्षिक सत्र सुरु भइसक्दा समेत पाठ्यपुस्तक अभावमा खाली झोला बोकेर विद्यालय जान बाध्य बालबालिका यस पटक भने विद्यालय खुल्नासाथ झोला भरी पाठ्यपुस्तक बोकेर जान पाउने भएका छन्। जिल्लामा रहेका सबैजसो पुस्तक पसलमा शुक्रवार कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक आएका छन्। 

विगतका वर्षमा सिजन सुरु भएको दुई महिनासम्म पनि जनक शिक्षा सामाग्री केन्द्रले पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा व्यवसायीले जिल्लामा सबै विषयको पुस्तक ल्याउन सकेका थिएनन्। तर यस वर्ष केन्द्रले बेलैमा सेट सङ्ख्यामा पुस्तक प्रकाशन गरेका कारण भने चाँडै नै पाठ्यपुस्तक जिल्लामा पुर्‍याउन सफल भएको छ । 

सरकारले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा दिने भनी घोषणा गरेसँगै यस वर्ष कक्षा १ देखि ४ सम्मको निजी क्षेत्रलाई प्रकाशन र वितरणको जिम्मा दिएको छ भने कक्षा ५ देखि १० सम्म पाठ्यपुस्तक  जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले प्रकाशन र वितरणको जिम्मा लिएको थियो।

 चैत महिनाभित्रै जिल्लामा आएका सबै पाठ्यपुस्तक सामुदायिक विद्यालयमा पुर्‍याइसक्ने गरी काम अघि बढाइएको रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलको भनाई छ । यस वर्ष समयमा नै पाठ्यपुस्तक प्राप्त भएकाले विगतका वर्षको जस्तो विद्यार्थीले खाली झोला बोकेर विद्यालय जानु पर्ने स्थितिको अन्त्य भएको गजुरेलले बताएका छन् । 

१ महिना अगाडि

प्रतिक्रिया