मेलम्चीको मुख्य डाइभर्सन संरचना सर्कथलीमा बनाउन अध्ययन सुरु

३ हप्ता अगाडि

काठमाडौँ-सरकारले मेलम्चीको मुख्य हेडवर्क्स तथा डाइभर्सन संरचना सर्कथलीमा बनाउन अध्ययन सुरु गरेको छ। हरेक वर्ष आउने बाढीले मुहानको हेडवक्र्स र डाइभर्सन संरचना बगाउन थालेको भन्दै सरकारले विकल्पस्वरूप नयाँ ठाउँमा हेडवक्र्स बनाउन अध्ययन अघि बढाएको हो।

मेलम्चीको मुहानबाट करिब १ किलोमिटरमाथि हेडवक्र्स र डाइभर्सन संरचना बनाउन उपयुक्त देखिएको मेलम्ची आयोजना विकास समितिका प्रवक्ता तथा इन्जिनियर राजेन्द्र पन्तले बताए। मेलम्ची खानेपानीलाई दीर्घकालीन रूपमा अघि बढाउन र विपद्को उच्च जोखिमयुक्त क्षेत्रमा बनाइएको हेडवक्र्स संरचना अन्यत्र सार्नुपर्ने अध्ययनले देखाएको  उनले बताए।

‘अहिलेको मेलम्चीका मुहानदेखि करिब १ किलोमिटरमाथि सर्कथली भन्ने ठाउँमा नयाँ हेडवर्क्स र डाइभर्सन संरचना बनाउन अध्ययन गरिरहेका छौं’, उनले भने, ‘अहिलेको हेडवर्क्स संरचना भूधरातलीय दृष्टिले पनि निकै कमजोर रहेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ।’

बाढीले हेडवर्क्स संरचना पुरेपछि दातृ निकाय एसियाली विकास बैंकको प्राविधिक तथा विज्ञ समूहले गरेको अध्ययनले हेडवक्र्स संरचना अन्यत्र सार्नुपर्ने बैंकले देखाएको थियो। गत २०८० साउनको अन्त्यमा आएको बाढीले मेलम्ची हेडवक्र्स र डाइभर्सन संरचनामा क्षति हुनुका साथै हेडवर्क्ससम्म पुग्ने पहुँचमार्ग समेत बगाएको थियो। त्यसपछि काठमाडौंमा मेलम्चीको पानी वितरण कार्यसमेत रोकिएको थियो।अस्थायी संरचना प्रयोग गरेर काठमाडौं उपत्यकामा झारिएको मेलम्चीको पानी गत माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहालले पुनर्वितरणको शुभारम्भ गरेका थिए।

खर्चिलो लागत अनुमान

मेलम्ची आयोजनाको नयाँ हेडवर्क्ससहितको संरचना अर्को ठाउँमा बनाउन लागत भने बढी खर्चिलो हुने देखिएको छ। हेडवर्क्ससहित एक सुरुङमार्ग बनाउन तीन अर्बभन्दा बढी लागत अनुमान गरिएको पन्तले बताए। ‘मुख्य हेडवर्क्स नयाँ ठाउँमा स्थानान्तरण गर्न तीन देखि चार अर्ब रूपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान छ’, उनले भने, ‘अध्ययनसँगै सरकारले स्रोत सुनिश्चितता गरेमा पाँच वर्षभित्र बनाउन सकिन्छ।’ नयाँ हेडवर्क्ससँगै एक सुरुङमार्गसहित डाइभर्सन संरचना बनाउन सर्कथलीमा पर्याप्त ठाउँ भएको पन्तले बताए। ‘मुहानभन्दा माथि हेडवर्क्स र एक सुरुङ बनाउनुपर्ने हुन्छ।’ उनले भने, ‘त्यो ठाउँ फराकिलो पनि छ।’ मेलम्चीको पानी दीर्घकालीन रूपमा वितरणका लागि सुरक्षित ठाउँमा हेडवर्क्स संरचना बनाउनुपर्ने विज्ञहरू बताउँछन्।

याङ्ग्री र लार्के खोला फर्काउन अप्ठ्यारो

दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको आयोजनाको १७–१७ करोड लिटर पानी सोही हेडवर्क्स संरचनामा मिसाउनुपर्ने हुन्छ। त्यसका लागि पनि मेलम्चीको मुख्य हेडवर्क्स र डाइभर्सन बलियो र सुरक्षित ठाउँमा बन्नुपर्छ। अहिले याङ्ग्री र लार्के खोला फर्काउन पहुँच मार्ग विस्तारलगायतका काम धमाधम भइरहेका छन्। बाढीका कारण हरेक वर्ष हेडवक्र्समा क्षति पुग्दा याङ्ग्री र लार्के खोलाको पानी सुरुङमा हाल्न अप्ठ्यारो हुने आयोजनाका  अधिकारी बताउँछन्। ती दुवै खोलासम्म पुग्ने पहुँचमार्ग बनाउन बाढीका कारण पनि जोखिम बढिरहेको छ। बाढी, पहिरोलगायत विपद्का दृष्टिले मेलम्ची–भेमाथाङ, इन्द्रावती, हेलम्बु र अम्बाथानक्षेत्र उच्च जोखिममा पर्दै आएका छन्। गएको वर्षा यामका बेला आएको बाढीले हेडवर्क्स संरचनालाई करिब २० फिट अग्लो गेग्य्रानले पुरेको थियो। गेग्रान हटाएर अडिट सुरुङमा पसेको ढुङ्गा, गिट्टी र बालुवा झिकेर अस्थायी संरचनाबाट पानी पथान्तरण गरिएको हो। २०७८ असारमा आएको बाढीले मुहान क्षेत्रलाई तहसनहसनै बनाएपछि पानी अस्थायीरूपमा काठमाडौं ल्याउने गरिएको छ।

२०७७ चैत १ मा पहिलो पटक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पानी वितरण उद्घाटन गरे पनि हरेक वर्ष बाढीका कारण काठमाडौं उपत्यकामा नियमित रूपमा पानी वितरण हुन सकिरहेको छैन्। दातृ निकाय एडिवी र नेपाल सरकारको झन्डै ३० अर्बभन्दा बढी लगानी भएको मेलम्ची काठमाडौं उपत्यकाबासीको तिर्खा मेट्ने आयोजनाका रूपमा लिइँदै आएको छ।

३ हप्ता अगाडि

प्रतिक्रिया