काठमाडौँ - राष्ट्रिय अर्थशास्त्री सम्मेलन चैत्र २३ र २४ गते आयोजना हुने भएको छ ।
राष्ट्रिय चरित्र अनुरूपको स्वाधीन र समुन्नत अर्थतन्त्र निर्माणमा योगदान पु्याउने उद्देश्यकासाथ राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले वर्षेनी आयोजना गर्दै आएको यो तेस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन हो ।“एकातर्फ, पछिल्लो दशकमा बढ्दै गएको अनियन्त्रित आयातले राष्ट्रिय उद्योगलाई धरासायी बनाउँदै मुलुकलाई परनिर्भर र आर्थिकरूपमा थप अस्थिर बनाउँदै लगेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूबाट हुने लगानी पनि उत्पादनशील क्षेत्रमा परिचालन हुन सकिरहेको छैन । बैङ्किङ क्षेत्रमा नियमित जसो देखिने तरलता समस्या र अस्थिर व्याजदरको कारणले लगानीको वातावरण बन्न सकिरहेको छैन,” संस्थाका अध्यक्ष गंगा बहादुर थापाले जानकारी दिए ।
अर्कोतर्फ, सरकारको न्यून राजस्व सङ्कलन र नयाँ संघीय शासन प्रणालीको कार्यान्वयन सँगै बढ्दो नियमित खर्च, अनियमितता र भ्रष्टचार जस्ता कुराहरूले बढावा पाउँदा संघीय प्रणालीमाथि नै प्रश्न उठ्न थालेको उनले बताए । दक्ष तथा युवा जनशक्तिको बढ्दो विदेश पलायनले देशको जनसांखिक संरचना र श्रमबजारमा असन्तुलन पैदा गरी तिव्र आर्थिक बृद्धि सहित समृद्ध राष्ट्र निर्माण गर्ने अभिलाषामा ठेस पुग्ने थापाको भनाइ छ । यसै परिस्थितिलाई मध्येनजर गर्दै नीतिगत तथा संरचनागत परिवर्तन मार्फत उत्पादन र उत्पादकत्व अभिबृद्धि सहित राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ र मजबुद गराउनका लागि प्राज्ञिक तथा अर्थराजनीतिक स्तरबाट गरिनुपर्ने पहलकदमीको महशुसका साथ वार्षिक कार्यक्रमका रूपमा यो सम्मेलन आयोजना गर्ने गरिएको आयोजक संस्थाले जनाएको छ ।
सम्मेलनमा प्रस्तुत कार्यपत्रहरूमा प्राज्ञिक बहस चलाई प्राप्त निष्कर्षलाई सरकार, राजनीतिक दलहरू तथा नीति निर्माणमा सम्लग्न निकायहरूलाई कार्यान्वयनको लागि पठाइने आयोजक संस्थाले जनाएको छ । दुई दिने सम्मेलनलाई उद्घाटन सत्र र प्राविधिक सत्र गरी दुई भागमा विभाजन गरिएको आयोजक संस्थाले जनाएको छ । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको पहिलो दिनको कार्यक्रम काठमाण्डौको राष्ट्रिय सभागृहमा चैत्र २३ गते शुक्रबार दिउसो २ बजे सुरु हुने बताइएको छ । यस सम्मेलनमा प्रस्तुत कार्यपत्र, कार्यपत्र उपर टिप्पणीकर्ताको टिप्पणी तथा सम्मेलनको निष्कर्षलाई प्रोसिडिङको रूपमा तयार गरी नेपाल सरकार तथा सम्बन्धित नीति निर्माणकर्ताहरूलाई बुझाइने र यसले मुलुकको समतामूलक आर्थिक सम्मृद्धिको यात्रामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा आयोजकले गरेको छ ।
प्रतिक्रिया