उडिरहेको विमानको इन्जिन कभर खस्यो

३ हप्ता अगाडि

काठमाडौँ - आकाशमा उडिरहेको समयमा साउथवेष्ट एयरलाइन्सको विमानको इन्जिन कभर खसेको छ । 

आइतबार ह्यूष्टनतर्फ गइरहेको बोइङ ७३७-८०० विमानको इन्जिन कभर झरेर पखेटामा अड्किएको थियो । यो घटनापछि विमानलाई डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काएर सुरक्षित रूपमा अवतरण गरिएको अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए)ले बताएको छ । यस मामिलामा एफएएले छानबिन गर्ने भएको छ । रेकर्डेड एयर ट्राफिक कन्ट्रोल अडियोमा एक जना पाइलटले कयौँ यात्री र फ्लाइट अटेन्डेन्टहरूले पङ्खामा केही वस्तुले हिर्काइरहेको चर्को आवाज सुनेको बताएका थिए । यो घटनापछि यात्रीहरू अर्को विमानमा चढेर ह्युष्टन फर्किए ।

उनीहरूको उडान निर्धारित समयभन्दा तीन घण्टा ढिला भएको थियो । यस घटनामा कसैलाई पनि चोटपटक नलागेको बताइएको छ । कम्पनीले यस घटनाका लागि सबै यात्रीहरूसँग माफी मागेको थियो । एयरलाइन्सको मर्मत सम्भार टोलीले विमानको चेकजाँच गर्ने बताइएको छ । विमान डेनभर विमानस्थलबाट स्थानीय समयअनुसार बिहान ७ः४९ बजे उडेको थियो । विमान फर्किदा बिहानको ८ः१५ भएको थियो । यो घटना भएको समयमा विमान १० हजार फिटको उचाइमा थियो ।

३ हप्ता अगाडि

प्रतिक्रिया