उपनिर्वाचनको सुरक्षा व्यवस्था

३ हप्ता अगाडि

काठमाडौँ - आज बसेको निर्वाचन आयोगको बैठकले  सम्पन्न उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिश समेतका आधारमा देहाय बमोजिम गर्ने निर्णय गरेको छ। 

१. इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं १ ९१० मा मिति २०८०\१२\२८ देखि लागु हुने निर्वाचन आचार संहिता, २०७९ को कार्यान्वयनको लागि जिल्ला आचार संहिता अनुगमन समितिले निर्णय गरी आचार संहिताको पालना गर्न गराउन जिल्ला आचार संहिता अनुगमन समितिको काम, कर्तव्य र अधिकारका अतिरिक्त देहायका कार्यहरू गर्ने व्यवस्था मिलाउन निर्देशन दिनेः-

१.१    निर्वाचन आचार संहिता, २०७९ को दफा ४२ बमोजिम आचार संहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्ति मार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कार्वाही गर्ने।
१.२    निर्वाचन आचार संहिता, २०७९ को परिच्छेद ४ बमोजिम राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचारणहरू जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला सम्बन्धी विषय, सवारी साधनको प्रयोग र संचार माध्यमको प्रयोग सम्बन्धी विषय र निर्वाचन खर्च सम्बन्धी विषयमा दैनिक विवरण लिने। अनुगमन अधिकृत र जिल्ला आचार संहिता अनुगमन समितिले आचार संहिता उलंघनको विषयमा तत्काल कारवाही प्रारम्भ गर्ने र कुनै द्विविधा उत्पन्न भएमा टेलिफोन, एस।एम।एस।, एवम् इमेल वा अन्य कुनै उपयुक्त माध्यम मार्फत आयोगबाट निकासा लिई कारवाही टुंग्याउने।
१.३    निर्वाचन आचार संहिता, २०७९ बमोजिम नेपाल सरकार र प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सो का पदाधिकारीले आयोगको अनुमति नलिई निर्वाचन क्षेत्रमा उपस्थित भएको वा प्रचार प्रसार कार्यमा संलग्न भएको पाइएमा आवश्यक जाँचबुझ गरी निर्वाचन आचार संहिता, २०७९ तथा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ बमोजिम कारवाही प्रारम्भ गर्ने र कुनै द्विविधा भएमा उपयुक्त माध्यम द्वारा यथासक्य छिटो प्राप्त हुने गरी आयोगमा सिफारिश गरी पठाउने।
२.  मिति २०८१ बैशाख २ देखि मिति २०८१\ ०१\१५ गते उपनिर्वाचन सम्पन्न भई मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने जिल्ला भित्र मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयमा लेखी पठाउने।

३. उपनिर्वाचन हुने इलाम जिल्ला र बझाङ जिल्लामा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ को व्यवस्था कार्यान्वयन गर्न मातहतका सवै निकायहरूको परिचालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत राष्ट्रिय अनुसन्धान विभाग र गृह मन्त्रालय मार्फत नेपाल प्रहरीमा लेखी पठाउने।
४. मिति २०८१\१\१५ मा हुने इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं १९१० मा उपनिर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न मिति २०८१\०१\१३ देखि मिति २०८१\०१\१५ सम्म ३ दिनका लागि उपनिर्वाचन हुने क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले मिति २०८१\०१\१३ देखि मिति २०८१\०१\१४ सम्म २ दिनका लागि विद्यालयमा सार्वजनिक विदाको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारमा लेखि पठाउने।
५.  इलाम जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ तथा बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं १९१० मा मिति २०८१\०१\१५ मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न उक्त दिन उल्लिखित जिल्लाहरूमा उपयुक्त सुरक्षा ब्यवस्था अवलम्बन गरी सार्वजनिक यातायात सञ्चालन तथा ब्यवस्थापन गर्न सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिले आवश्यक व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयमा लेखी पठाउने।
६. निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचनका क्रियाकलापहरूमा परिचालन हुने कर्मचारी र सुरक्षाकर्मीहरूबाट सम्पूर्ण उम्मेदवारहरू र राजनीतिक दलहरूप्रति समान व्यवहार गरी निर्वाचन सम्बन्धी कार्यसम्पादनमा समान अवसर प्रदान गर्न सम्बन्धित निकायहरूले आवश्यक सतर्कता अपनाउन निर्देशन दिने।

आयोगका प्रमुख निर्वाचन आयुक्तको अध्यक्षतामा आजै बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा आगामी मिति २०८१ साल वैशाख १५ गते उपनिर्वाचन हुने इलाम र बझाङ जिल्लाको वर्तमान सुरक्षा व्यवस्थाका र उपनिर्वाचनको हालसम्मको तयारीका सम्बन्धमा छलफल तथा समीक्षा गरिएको छ । बैठकमा निर्वाचन आयोगका आयुक्तहरू, निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिवहरू, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरिक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक लगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको छ ।

        

३ हप्ता अगाडि

प्रतिक्रिया